नेकपा बहुमतका मकवानपुर इञ्चार्ज खड्का र  सेक्रेटरी पक्राउ 

हेटौंडा । धर्मेन्द्र बास्तोलाको नेतृत्वमा रहेको नेकपा बहुमत पार्टीका मकवानपुर इञ्चार्ज र सेक्रेटरी पक्राउ परेका छन् । मकवानपुर इञ्चार्ज ध्रुव खड्का र सेक्रेटरी विक्रम राना ‘शक्ति’लाई प्रहरीले हेटौंडाबाट पक्रेको हो । 
जिल्ला प्रहरी कार्यालय परिसर नजिकैबाट उनीहरु पक्राउ परेको बताइएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिस्कार अभियानमा लागेको नेकपा (क्रान्तिकारी माओवादी), नेकपा बहुमतसहितका चार पार्टीको अभियानअन्तर्गत भित्ते लेखन क्रममा बहुमतका नेताहरु पक्राउ परेका हुन् । 
पार्टीका सेक्रेटरी दिक्पालले प्रेस विज्ञप्ति जारी गर्दै दुवै नेतालाई रिहा गर्न माग गरेका छन् । यता जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले निर्वाचन विरोधी गतिविधि गर्ने २ जनालाई पक्राउ गरिएको जानकारी दिए । 
यसैबीच निर्वाचन बहिष्कारको घोषणा गरेको सो पार्टीसँगै मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी०ले पक्राउको विरोध गर्दै अविलम्ब रिहाइको माग गरेको छ । क्रान्तिकारी माओवादीका सेक्रेटरी दिक्पालले मंगलबारै एक विज्ञप्ति जारी गरी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन बहिष्कार अभियानमा सहभागी पार्टीका नेतालाई पक्राउ गर्नु आपत्तिजनक रहेको भन्दै दुवैलाई विनासर्त रिहाइ गर्न माग गरेका छन् ।

समाचार समाज