काभ्रेमा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

काभ्रे : काभ्रेबाट एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। जिल्लाको विकट महाभारत गाउँपालिका–८ की १९ वर्षीया प्रज्ञा केसीलाई सोही वडाको घर्तिछापबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ पठाइएको हो।

उनी सुत्केरी व्यथा लागेपछि डेभलिभरीका लागि घर्तिछाप स्वास्थ्यचौकीको बर्थिङ सेन्टरमा ल्याउने क्रममा बाटोमा नै सुत्केरी भई बर्थिङ सेन्टर आइपुगेको थियो।  तर सुत्केरी भए पनि महिलाको सालनाल नछुट्टिएर स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि उनलाई काठमाडौँको थापाथलीस्थित प्रसूतिगृहमा पठाएको महाभारत गाउँपालिकाको अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए।

अध्यक्ष जिम्बाले सुत्केरी महिला थापालाई तत्काल उद्धार गरी सुविधा सम्पन्न अस्पतालमा उपचार गराउनुपर्ने भएकाले सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको बताए।

गर्भवतीका आफन्त र स्वास्थ्यचौकी घर्तिछापले गाउँपालिका र गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयमा विरामीको उद्धारका लागि गरिएको अनुरोधमा एक आमा र बच्चाको ज्यान जोगाउन पहल गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।

सुत्केरी महिलालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरिएको हो। हालसम्म महाभारतबाट मात्रै यो वर्ष सुत्केरी तथा गर्भवती महिलाको हेलिकप्टरमार्फत १० जनाको बढीको उद्धार भइसकेको छ।

काभ्रेका विकट दुई गापा महाभारत र खानीखोला गापाको स्थानीयस्तरमा सुविधासम्पन्न अस्पताल र उपकरण अभावकै कारण आपत्‌मा हेलिकप्टरबाट शहरमै लैजानुपर्ने बाध्यता छ।

समाचार समाज