एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए राजनीति छाड्छु  : घर्ती

पूर्वसभामुख ओनसरी घर्तीले मुलुकमा सुशासन र विकासका लागि कानून बनाउन सत्तारुढ गठबन्धनका तर्फबाट आफूले काठमाण्डौं–२ मा उम्मेदवारी दिएको बताएकी छन्।

तिहार पर्वका अवसरमा काठमाडौंको शंखरापुर नगरपालिका–३ जहरसिंहपौवामा आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा घर्तीले सुशासन र विकास आफ्नो प्रमुख चुनावी एजेण्डा रहेको बताइन्। आफू सभामुख पदमा रहँदा सुशासनका पक्षमा दृढतापूर्वक उभिएको भन्दै उनले आफ्नो कामबारे सञ्चार माध्यममा त्यतिबेला प्रकाशित र प्रसारित समाचार खोजेर हेर्न आग्रह गरिन्।

‘म सभामुख भएको मान्छे हुँ। दुई वर्ष सभामुख हुँदा सुशासनको मामिलामा देशलाई घात गर्ने काम गरेको वा एक रुपैयाँ भ्रष्टाचार गरेको कसैले पुष्टि गर्न सकोस् म राजनीतिबाटै सन्यास लिन्छु’, उनले भनिन्।

घर्तीले प्रतिनिधिसभामा निर्वाचित भएपछि आफ्नो प्रमुख ध्यान भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्नुहुने उल्लेख गरिन्। जनताको विकास र समृद्धिको सपना नै आफ्नो सपना भएको उनको भनाइ थियो। घर्तीले जीर्ण अवस्थामा रहेको चाबहिल–मुलपानी–साँखु सडक निर्माणको कामलाई छिटोभन्दा छिटो सम्पन्न गर्ने र मध्यपहाडी लोकमार्गसँग जोड्ने प्रतिबद्धता जनाइन्।

यस्तै काठमाण्डु–२ लाई पर्यटकीय हबका रुपमा विकास गर्ने, कृषि पर्यटनको विकासका लागि पूर्वाधारमा जोड दिने, युवाहरुले स्वदेशमै रोजगारी पाउने र गाउँको खाना, संस्कार, संस्कृति र रितिरिवाजको रक्षा गर्ने आफ्नो सपना रहेको बताइन्। फरक प्रसंगमा उनले तत्कालीन प्रधानमन्त्री केपी ओलीले संविधान र व्यवस्था मास्ने उद्देश्यले दुईपटक सम्म प्रतिनिधिसभा विघटन गरेपछि त्यसका विरुद्ध वर्तमान गठबन्धन निर्माण भएको बताइन्।

राजनीति समाचार