प्रधानमन्त्री कप : लगातारको तेस्रो हारसँगै बाहिरियो बागमती

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा बागमती प्रदेश लगातार तेस्रो हार बेहोर्दै प्रतियोगिताबाटै बाहिरिएको छ।

टियू मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा बागमती लुम्बिनी प्रदेशसँग ८ विकेटले पराजित भयो।

लुम्बिनीले भने प्रतियोगितामा पहिलो जित निकाल्यो। यसअघि बागमती प्रदेश १ सँग ६९ रन र नेपाल पुलिससँग १ सय ९२ रनले पराजित भएको थियो।

टस जितेर पहिलो ब्याटिङ गरेको बागमती ३८ ओभर १ बलमा अलआउट हुँदै १ सय ५४ रनमा समेटिएको थियो।

जवाफमा उक्त लक्ष्य लुम्बिनीले ३५ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गरेको थियो।

लुम्बिनीको जितमा कप्तान देव खनालले सर्वाधिक ७७ रनको अविजित इनिङ खेलेका थिए। उनले १ सय १९ बलमा ८ चौका र २ छक्का प्रहार गरे। प्रज्वल थापाले २९ रन बनाउँदा सन्दीप रजाली पनि २९ रनमा नटआउट रहे।

त्यसअघि पहिलो ब्याटिङ गरेको बागमती १ सय ५४ रनमा समेटिएको थियो। उसका लागि कप्तान ज्ञानेन्द्र मल्लको ३३ रन सर्वाधिक रह्यो।

दुर्गेश थापाले ३२ रन बनाउँदा ओपनर आशुतोष घिरैयाले २२ रन बनाएका थिए। प्रतिश जिसीले १५ रन बनाउँदा रामनरेश गिरी १० रनमा नटआउट रहे।

लुम्बिनीका लागि अनिल खरेलले ४ विकेट लिएका थिए।

खेलकुद समाचार