राष्ट्रिय झण्डा ओढेर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार थापाको टिम घर–घरमा

हेटौँडा । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मकवानपुर क्षेत्र नंबर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार टाकाराज थापा (सुरेश) आफ्नो चुनावी प्रचारप्रसारलाई तिब्रता दिएका छन् ।

राष्ट्रिय झण्डा ओढेर जनताको घरदैलोमा पुगेका थापाले पार्टीको अजेण्डा र नयाँलाई प्राथमिकताको बारेमा आम मतदातासँग छलफल अघि बढाएका हुन् । आफु हेर्नको लागि भन्दा पनि केहि गर्नको लागि उम्मेद्वार बनेको भन्दै थापाले यो पटक परिवर्तनको पक्षमा माहोल निर्माण भएको दाबी गरे ।

घरदैलोको क्रममा आफुले आम मतदाताको भावना बुझने मौका पाएको भन्दै उनले भने ‘अहिले मतदाताहरु पनि पुरानाले केहि नगरेको भन्दै नयाँलाई अवसर दिनुपर्छ भन्ने पक्षमा रहेका छन, यो पटक मकवानपुरबाट परिवर्तनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टीमा मत आउने पक्का छ । ’
थापाले आफ्नो प्रतिस्पर्धा पटक–पटक जितेर केहि नगर्नेहरुसँग भएको बताए । सांसद, राज्यमन्त्री, मन्त्री सहितको उम्मेद्वारसँगको प्रतिस्पर्धा निकै रोचक रहेको भन्दै उनले जनताले यो पटक घण्टीमा विश्वास गर्नेमा आफु ढुक्क रहेको बताए ।
थापाको टिमले यतिबेला हेटौँडा सहित क्षेत्र नंबर १ को गाउँगाउँमा प्रचारप्रसरको गतिविधिलाई तिब्रता दिएको छ ।

राजनीति समाचार