चितवनमा भ्यान र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

चितवन :  भरतपुर महानगरपालिका–१५ मा यात्रु बोक्ने म्याजिक भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमाएकजना मोटरसाइकलका चालक र अर्का व्यक्ति म्याजिकका यात्रु रहेको चितवन प्रहरीले जनाएको छ। 

हिजो साँझ साढे सात बजेतिर भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना १ ज ६०५ नम्बरको म्याजिक भ्यानले भरतपुरतर्फ आउँदै गरेको ना २३ प २५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए। 

ठक्करपछि घाइते भएका म्याजिकका यात्रु स्याङ्जाका २४ वर्षीय नविन नेपालीलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै निधन भएको डिएसपी पण्डितले बताए।

त्यसैगरी गम्भीर घाइते भएका मोटरसाइकल चालक चितवन भरतपुर महानगरपालिका–५ का ४० वर्षीय यज्ञ शर्माको उपचारको क्रममा भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा निधन भएको डिएसपी पण्डितले जानकारी दिए। घटनामा अन्य दुई जना पनि घाइते भएका छन्।

समाचार समाज