प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि एपिएफलाई 

हेटौंडा । विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफले उपाधि उचालेको हो ।
विवादका कारण ढिला सुरु भएको खेल ४० ओभरमा झारिएको थियो । आर्मीले सुरुवाती ब्याटिङ गर्दै एपीएफलाई जितका लागि १ सय ८० रनको लक्ष्य दएको थियो । आर्मीले दिएको लक्ष्य एपीएफले ३८ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
एपीएफको जितमा भुवन कार्कीले सर्वाधिक ५५ रनको अर्धशतकीय इनिङ खेले । सुमित महर्जनले ३४ रन जोड्दा प्रदीप ऐरीले २० रन बनाए । सन्दीप जोराले १७ तथा आसिफ शेखले १४ र लोकेश बमले ८ रन बनाए । कप्तान शरद भेषवाकरले अविजित १६ रन जोडे ।
आर्मीका जितेन्द्र मुखियाले २ विकेट लिए । सोमपाल कामी, बिक्रम सोब र सुशन भारीले १÷१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ३९ ओभरमा अलआउट हुदै १ सय ७९ रन बनाएको थियो ।
आर्मीका युवा ब्याटर तथा राष्ट्रिय टोलीका नवनियुक्त कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ४९ रन बनाए । जितेन्द्र मुखिया २४ रनमा अविजित रन रहे । शुसन भारीले १९ रनमा आउट भए । अन्तिम विकेटका लागि शुसन भारी र जितेन्द्र मुखियाले ४७ रनको साझेदारी गरेका थिए । 
ओपनर सोमपाल कामी शून्य रनमा आउट हुँदा अर्का ओपनर अर्जुन साउद १३ रनमा बनाए । हरि चौहानले १५ रन, बिक्रम सोब ६ तथा कप्तान बिनोद भण्डारी ११ रनमा आउट भए ।  राजेश पुलामी १८ रनमा आउट भए । आर्मीलाई सस्तैमा समेट्न एपीएफका लागि अमर सिंह रौटेला र मौषम ढकालले समान ३÷३ विकेट लिए । किशोर महतोले २ विकेट लिए ।
उपाधिसँगै एपीएफले नगद १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले ५ लाखमा चित्त बुझाएको छ । सेमिफाइनलबाट बाहिरिएका पुलिस क्लब र मधेश प्रदेशले ५०÷५० हजार प्राप्त गर्यो । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो । 

खेलकुद समाचार