भारतीय र चिनियाँ सेनाबीच सीमा क्षेत्रमा झडप

एजेन्सी : भारत र चीनको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप भएको छ।

भारतीय सञ्चार माध्यमहरूमा प्रकाशित समाचार अनुसार चीनसँग सीमा जोडिएको भारतको अरुणाचल प्रदेशनजिकैको सीमा क्षेत्रमा झडप भएको हो।

दुई देशबीचको विवादित सीमा क्षेत्र रहेको ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ मा भएको झडपमा दुवैतर्फका केही सैनिक घाइते भएको जनाइएको छ।

यस क्षेत्रमा विगतमा पनि झडप हुने गरेको थियो। भारत र चीनको विवादित भूभाग अरुणाचलमा हाल भारतको नियन्त्रण रहेको छ। उक्त क्षेत्रलाई चीनले दक्षिणी तिब्बत भन्दै दाबी गरिरहेको छ।

सैनिक र कुटनीतिक तहमा सीमा विवाद सल्टाउने र उक्त क्षेत्रमा शान्ति कायम गर्ने विषयमा पटक—पटक वार्ता भए पनि समस्या हल हुन सकेको छैन।

पछिल्लोपटक अक्टोबर २०२१ मा सीमा नजिकैको याङ्सेमा क्षेत्रमा दुई देशका सैनिक आमनेसामने भएका थिए।

समाचार