ओमिक्रोनको उपप्रजाति ‘बीएफ.७’को उच्च जोखिममा नेपाल

काठमाडौँ : चीनमा ओमिक्रोनको सब भेरियन्ट (उपप्रजाति) बीएफ.७ फैलिएसँगै नेपालमा पनि संक्रमण बढ्ने  जोखिम उच्च रहेको भन्दै सरकारले सीमा नाकामा स्वास्थ्य सतर्कतामा कडाइ गर्ने भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता तथा आपत्‌कालीन स्वास्थ्य व्यवस्थापन केन्द्र (एचईओसी) प्रमुख डा. समीर अधिकारीका अनुसार पछिल्लो समय ओमिक्रोनको उपप्रजाति बीएफ.७ का संक्रमित छिमेकी देशमा बढ्न थालेसँगै हवाइ तथा स्थलगत सीमानाकाका सबै हेल्थ डेस्कलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको बताएका छन्।

‘ओमिक्रोनको सब भेरियन्ट ‘बीएफ.७’ अब नेपालमा पनि ढिलो चाँडो त फैलन्छ तर यो कत्तिको घातक हुन्छ भन्ने कुरा भने हाल चीनमा यो भेरियन्टबाट संक्रमित भएकाहरूले खोप लगाएको वा नलगाएको वा कति समय अघि खोप लगाएको र खोप लगाएको भए कुन खोप लगाएका थिए भन्ने कुरा प्रष्ट रूपमा खुलेपछि मात्रै भन्न सकिन्छ। यदि हाल यो भेरियन्टबाट संक्रमितहरूले पूर्ण खोप लगाएर पनि बुस्टर डोज खोप लगाएका थिए भने ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ.७’ घातक खालको रहेछ भनेर बुझ्नुपर्छ’‚ डा. पुनले भने।

‘अर्को कुरा हाल हाम्रोमा पनि चीनमा उत्पादन भएको खोप लगाएका छौं’, यदि चीनमा हाल संक्रमितहरूले चीनमै उत्पादित खोप लगाएर पनि संक्रमित भएका हुन् भने खोपको प्रभावकारिता ज्यादै न्यून रहेको र  नेपालमा बीएफ.७’ ले घातक रूप लिनसक्छ’‚ उनले भने। बीएफ.७ मा रोग प्रतिरोधात्मक क्षमतालाई छल्ने क्षमता पनि देखिएको छ। यस्तो अवस्थामा यो सबभेरियन्ट खोप लगाएका व्यक्तिका लागि पनि खतरनाक हुनसक्छ। केही अध्ययनले बीएफ.७ को प्रजनन दर (आर) पनि उच्च देखाएको समेत डा. पुनले बताए।

चीनमा विकसित भेरोसेल तथा सिनोफामका खोपको प्रभावकारिता पनि कम भएको विभिन्न अध्ययनले देखाएका छन्। नेपालमा पनि भेरोसेल र सिनोफाम प्रयोग भएका छन् ।हाल चीनमा यही खोप लगाएकाहरूमा खोपको प्रभावकारिता कम भएर ‘बीएफ.७’ घातक रूप लिएको हो भने नेपालमा पनि यो भेरियन्टले घातक रूप लिनसक्ने स्वास्थ्य मन्त्रालयका एक अधिकारी बताउँछन्।

समाज