बालबालिकालाई दादुरा र रुबेलाविरुद्ध खोप लगाउन आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई दादुरा र रुबेलाविरुद्ध खोप लगाउन सबैलाई आग्रह गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट  बचाउन  नौ  महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको हो। 

नेपालगञ्जमा दादुरा तथा रुबेलाविरुद्धको खोप नलगाएकाहरूमा संक्रमण देखिएपछि मन्त्रालयले आफ्ना बालबालिकालाई खोप नछुटाउन आग्रह गरेको हो।खोप शाखाका प्रमुख सागर दाहालले दादुराबाट जोगाउन नौदेखि १५ महिनासम्मका आफ्ना बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन आग्रह गरे। दुई मात्रा खोप लगाएमा यसको प्रभावकारिता ९७ प्रतिशत हुने विज्ञको भनाइ छ।

मिजल्स भाइरसका कारणबाट सर्ने दादुराले नेपालगञ्ज उपमहानगरपालिकामा सङ्क्रमण फैलिएको छ। नेपालगञ्जमा ९० जनालाई दादुरा पुष्टि भइसकेको छ भने एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

सरकारले  दादुरा  देखिएको क्षेत्रमा खोप अभियान सञ्चालन गरेको छ। खोप अभियान सुरु भएको ठाउँमा अहिलेसम्म तीन हजार बालबालिकालाई खोप लगाइएको छ।

समाचार