चालू खाता घाटा करिब ३८ अर्ब, शोधनान्तर बचतमा

काठमाडौँ : चालू आर्थिक वर्ष २०७९ को मङ्सिर मसान्तसम्म चालू खाता घाटा करिब रु. ३८ अर्ब पुगेको छ। यही अवधिमा शोधनान्तर स्थिति भने बचतमा देखिएको छ।नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा चालू खाता रु. ३७ अर्ब ९१ करोडले घाटामा छ। गत आवको समीक्षा अवधिमा चालू खाता रु. दुई खर्ब ९८ अर्ब ५१ करोडले घाटामा  थियो।       समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५.३ प्रतिशतले कमी आई रु. तीन अर्ब ४७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु. ६० करोड ४९ लाख पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु. चार अर्ब ६४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु. सात अर्ब सात करोड रहेको थियो।       राष्ट्र बैंकका अनुसार गत मङ्सिर मसान्तसम्म शोधनान्तर स्थिति रु. ५ अर्ब ८७ करोड बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु. एक खर्ब ९५ अर्बले घाटामा थियो।

गत असार मसान्तमा रु. १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति पाँच महिना अवधिमा ६.३ प्रतिशतले बढेर मङ्सिर मसान्तसम्म रु. १२ खर्ब ९२ अर्ब ५६ करोड पुगेको छ। गत मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

अर्थ समाचार