न्यायाधीश भुवन गिरीलाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा आन्दोलन

कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन भएको छ। 

मंगलवार उनकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेकी हुन्। न्यायाधीश गिरीकी श्रीमती आरती गिरी रावलले अपराधीलाई कारबाही नगरी न्यायालयको कुर्सीमा राखिरहेको भन्दै तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन भन्दै विरोध गरेकी हुन्। गिरीमाथि कारबाही प्रक्रिया अघि नबढेको भन्दै पीडित महिलाले मंगलवार सर्वोच्च अदालत अगाडि कालो कपडा लगाएर कपाल फाल्दै प्रदर्शन गरेकी हुन्। 

प्रदर्शनमा सहभागी बिनु यादवले आफूहरू धेरै पटक न्यायपरिषद्‌मा गए पनि मुद्दा नै दर्ता नगरेको र पीडितका कुरा सुनुवाइ नभएको बताइन्। उनले आफ्ना माग अझै सुनुवाइ नभए विरोध प्रदर्शन अघि बढाइरहने चेतावनी दिइन्। उनले आफू काका ससुराबाट पटकपटक बलात्कारको प्रयासमा परेको तर अहिलेसम्म पनि पीडकलाई कारबाही हुन नसकेको बताइन्।

उनले भनिन्, ‘न्यायाधीश भुवन गिरी हुनुहुन्छ, उहाँकी श्रीमती हुनुहुन्छ आरती गिरी। हामीले धेरै पटक न्यायालय धायौँ तर प्रक्रिया अघि बढाइदिनुभएको छैन। न्यायका लागि हामीले आत्मदाह गर्नुपर्ने हो। हामी पीडितहरू अब सडकमा उत्रिएर आन्दोलन गर्नेछौँ। काका ससुरा पर्नेबाट पटकपटक ममाथि बलात्कारको प्रयास भयो। उसलाई खोइ सजाय, हामीलाई न्याय दिएको खै।’

त्यस्तै प्रदर्शन गर्न पुगेकी अर्की कृतिका यादवले नेपालको न्यायालयमा न्यायाधीश नै बिक्ने गरेको आरोप लगाइन्। उनले आरोपित गिरीको उजुरी नै न्याय परिषद्ले लिन नमानेको बताइन्। 

उनले भनिन्, ‘भुवन गिरीलाई गिरफ्तार त परको कुरा उजुरी मात्रै पनि कसैले लिएको छैन। उनी न्यायाधीश हुन्, के उनका लागि कुनै उजुरी दर्ता हुँदैन। भारतकी छोरीको त रक्षा हुँदैन हुँदैन, नेपालकै छोरीको त रक्षा गर्नुस्। वकील बिक्छ, प्रहरी बिक्छ। कोही पनि यहाँ निष्पक्ष हुँदैन।’

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कार र घरेलु हिंसाको जाहेरी छ।

राजनीति समाचार