तुइन विस्थापित गरी झोलुङ्गे पुल बनाउने मन्त्री पाण्डेको प्रतिबद्धता

नवनियुक्त शहरी विकासमन्त्री विक्रम पाण्डेले सबैभन्दा पहिला देशभरका तुइन विस्थापित गरेर झोलुङ्गे पुल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।मंगलवार शहरी विकासमन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पाण्डेले नेपालको पश्चिममा खोलामा झोलुङ्गे पुल नहुँदा तुइनबाट खोला तर्दा खोलामा खसेर मृत्यु भइरहेको भन्दै सबैभन्दा पहिला मन्त्रालयले तुइन हटाएर झोलुङ्गे पुल बनाउने बताएका हुन्। उनले तुइन हटाएर झोलुङ्गे पुल बनाउन नसक्ने मन्त्रालयको औचित्य नहुने बताए।

मन्त्री पाण्डेले कालीगण्डी क्षेत्रमा हरेक आधाघण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गरिने बताए। उनले शहरी विकास मन्त्रालयमा गर्नुपर्ने कामको प्राथमिकताका आधारमा काम गर्ने बताए। मन्त्री पाण्डेले विकास निर्माणका काम के कारणले रोकिएको छानबिन गरी भएका समस्या तत्काल समाधान गर्ने योजना रहेको दाबी गरे।

उनले काम शुरु भएर पनि सम्पन्न नभएका काम तत्काल पूरा गर्न आफू मन्त्रालयमा आएको बताए।उनले भने, ‘शहरी विकास मन्त्रालयमा गर्नुपर्ने कामको प्राथमिकताका आधारमा काम गर्छौं। हुन नसकेका काम यथाशीघ्र गर्ने र नयाँ योजना थप्दै जाने सोचेका छौं। विकास निर्माणका काम ढिला हुन नदिन यो मन्त्रालय दिइएको हो।’

मन्त्री पाण्डेले शहरी विकास मन्त्रालयका विकास निर्माणका काम किन नभएको सबै थाहा भएकाले सबै समस्या समाधान गर्दै मन्त्रालयलाई विगतको भन्दा फरक रूपमा अगाडि बढाउने बताए।

‘शहरी विकास मन्त्रालयमा काम किन हुन नसकेको भन्ने थाहा छ। ती काम पूरा गरेर देखाउँछु। पश्चिमतिर भएको दर्दनाक तुइनबाट खसेर मानिसहरूको मृत्यु भएको छ। त्यहाँ सबैभन्दा पहिला तुइन हटाई झोलुङ्गे पुल बनाइन्छ’‚ उनले भने।

उनले आफूले शहरी विकास निर्माणको विषयमा जानकारी भएकाले कुनै स्वार्थ नबाझिने तर्क गरे।

राजनीति समाचार