ओलीको भनाइले सङ्घीयता नै खतरामा छ कि जस्तो भएको छ : विमलेन्द्र निधि

 नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले न्यायपालिकालाई नै निर्देशन दिने प्रणालीबाट सबै नागरिक झस्किएको बताउनुभएको छ ।

आज बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद निधिले प्रतिनिधि सभा विघटन प्रतिगामी होइन भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यवहारबाट सबै झस्किएकोसमेत बताउनुभयो । उहाँले संविधानले व्यवस्था गरेको प्रणालीले कार्यपालिकाभन्दामाथि कसैले पनि निर्देशन दिन नमिल्ने बताउनुभयो । ओलीको भनाइले सङ्घीयता नै खतरामा रहेको आशङ्का उब्जिएको उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘संविधानले ग्रहण गरेको अवलम्बन र व्यवस्था गरेको प्रणालीले कार्यपालिकाभन्दामाथि कसैले नीति निर्देशन दिन मिल्छ र ? हामी झस्केका छौँ । नागरिक झस्केका छन् । उहाँ (ओली) ले प्रतिनिधि सभाको विघटन प्रतिगमन होइन भन्नुभएको छ । बाहिरको र नेपालको संसदीय प्रणालीमा केही न केही फरक छ । उहाँले यस्तो भन्नुमा सङ्घीयतामाथि नै खतरा आइरहेको छ भन्ने महसुस भएको छ । हामीले त्यो सबै कुरालाई ध्यानमा राखेर विश्वासको मत दिएका छाैँ । विपक्षीले विश्वासको मत दिँदा खुसी मनाउनुपर्ने ठाउँमा चिन्ता हुन्छ भने के महत्त्व ? प्रतिस्पर्धालाई प्रतिशोधको भावनाले हेर्नु हुँदैन ।’

सांसद निधिले सभामुखमा ईश्वरीदेवी न्यौपाने सबैभन्दा योग्य पात्र भएको दाबी पनि गर्नुभयाे । उहाँले सभामुखकी उम्मेदवार न्यौपाने योग्य, अनुभवी, क्षमतावान्, कल्पनाशील दूरदर्शी व्यक्तित्व रहेको बताउनुभयो ।

राजनीति समाचार