निहारिका र शिवराजबीच मिलापत्र : अब श्रीमान्-श्रीमती भएर बस्ने

बलात्कार मुद्दा लगाएकी निहारिका राजपुत भन्ने सोनाली कुमारी सिंहले शिवराज श्रेष्ठसँग मिलापत्र गरेकी छन् । उनीहरुले जिल्ला अदालत धनुषामा सोमबार मिलापत्र गरेका हुन्। अबदेखि उनीहरु श्रीमान्(श्रीमती भएर बस्न राजी भएका छन्। जिल्ला न्यायाधीश ब्रिजेस प्याकुरेलको इजलासले निहारिका र शिवराज सहमति गरेर अदालत पुगेपछि मिलापत्रको आदेश दिएका छन्।

महोत्तरीको जलेश्वर(९ की निहारिका र धनुषाको क्षिरेश्वरनाथ(३ का शिवराजले मिलापत्रमा ३ वर्ष पहिलेदेखिको प्रेमलाई विवाहमा परिणत गरेको उल्लेख गरेका छन्। कानुनी हिसावले उमेर नपुगे पनि पत्नीकै रुपमा बस्दै आएको मिलापत्रमा निहारिकाले स्वीकारेकी छन्। अहिले उनीहरुका एक छोरा पनि छन्।

२०७७ भदौ ५ गते छोरा बिहान श्रेष्ठको जन्म भएको थियो। यसअघि यी सन्तान शिवराजकै भएको भन्दै निहारिकाले डीएनए परीक्षण गर्न माग गरेकी थिइन् । उच्च अदालतको आदेश अनुसार डीएनए गरिएको थियो। शिवराजसँग डीएनए मिलेको थियो। डीएनए मिलेसँगै निहारिका र छोरालाई स्वीकार्न शिवराज तयार भएका हुन्।

उनीहरुले शिवराज बेरोजगार भएका कारण परिवारमा विवाद भएको बताउँदै त्यो कुरा सामान्य भएको मिलापत्रमा उल्लेख छ । शिवराजले निहारीकालाई पत्नी भएका कारण यातना नदिएको अदालतमा बताएका छन्। शिवराजले निहारीका अंश लिई अलग बसे पनि मान्ने बताएका थिए ।

‘हामी वादी प्रतिवादीहरु यतिका दिनसम्म मुद्दा लडी बाझी आयौँ, अब उपरान्त मुद्दा नलडौँ, आपसमा मिलिजाऊँ भनी हामीबीच घरसारैमा मिली जाऔँ भनी मिलीआएको व्यहोरा यो छ कि म वादी तथा नाबालक छोरासमेतलाई इज्जत आमदअनुसार खान लाउन औषधोपचार खर्च, छोराको पढाई लेखाई खर्च तथा पिता र पतिको कर्तव्य निर्वाह गर्नेछु’, मिलापत्रमा उल्लेख छ।

मिलापत्रका लागि शिवराज र निहारिका संयुक्त निवेदन लिएर अदालत पुगेका थिए। यसअघि शिवराजविरुद्ध निहारिकाले बलात्कार कसुरमा जाहेरी दिएकी थिइन्। जिल्ला अदालतले बलात्कारको कसुरमा शिवराजलाई सफाइ दिने फैसला गरेको थियो । २०७८ माघ २४ गते जिल्ला अदालतले सफाइ दिने फैसला गरेपछि सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको थियो।

उच्च अदालतमा अहिले पनि बलात्कार आरोपको मुद्दा विचाराधीन छ। निहारिकाले २०७६ कात्तिक ६ गते शिवराजले जबरजस्तीकरणी गरेको आरोप लगाएकी थिइन्।

बलात्कारपछि आफू गर्भवती भएको बताएकी निहारीकाले २०७७ भदौ ५ गते छोरा जन्माएकी थिइन्। शिवराजले भने निहारिका गर्भवती भएको विषयमा आफूलाई थाहा नभएको बताउँदै आएका थिए।

समाचार समाज