खोला किनारमा कठ्यांग्रिदै रात काट्न विवश भूकम्पपीडित

बाजुरा : बाहिर कठ्यांग्रिदो चिसो छ। एक सातादेखि त्रिपालमुनि वास छ। न खाने गाँस न त बस्ने वास नै छ। केही पर चर्किएको आफ्नो घर छ। सयौँ परिवार यस्तै पीडामा बाँच्न विवश छन्। 

गीता रोकाया लगायत बाजुराको गौमुल गाउँपालिका-२ का बासिन्दाको जीवनचर्या हो यो।

गत मंगलबार विच्छ्या केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएपछि उनीहरू चिसोमा घर  छोड्न विवश भएका हुन्। हिउँदको समय चिसोले पालमुनि बस्दा त्यहाँका बूढाबूढी, गर्भवती र सुत्केरी महिला र बालबालिकालाई समस्या भएको छ।

भूकम्पपीडितले एक साता बितिसक्दा पनि राहत सामग्री नपाएको उनीहरूकले गुनासो गरेका छन्। उनीहरूलाई बिहान-बेलुकी हातमुख जोर्न धौधौ परेको छ।

त्यो भूकम्पबाट एकजनाको ज्यानै गयो भने चारजना घाइते भए। जिल्लामा ६ सयभन्दा बढी घरमा क्षति पुग्यो। त्यसमा पनि गौमुल गाउँपालिका-२ आगर, जुरेली, दहकोट र नरेडा बस्तीमा बढी क्षति भयो।

गौमुल गाउँपालिका-२ आगरमा रहेका दलित बस्तीका २५ परिवारको झनै बिजोग भएको छ। घरभित्र भएका लत्ताकपडा र अन्नसमेत निकाल्न नसकिने गरी घर चिराचिरा परेका छन्।

भिरालो जमिनमा बनाइएका घर एक फिटभन्दा बढी फाटेका छन्। यस्तो चिसोमा पनि गाउँवासी भित्र पस्ने आँट गर्न सकेका छैनन्। कुनै पनि घर बस्नलायक नभएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिएका छन्। 

उक्त गाउँपालिकामा १ हजार ६५० परिवारमध्ये ५७० परिवारका घर जोखिममा छन्। ५७० परिवारका बासिन्दा सबै विस्थापित भएका छन्।

उक्त गाउँपालिकाको वडा नं २ आगर, जुरेली, दहकोट र नरेडाका घर चर्किएर बस्न नमिल्ने भएपछि त्रिपाल र टनेलको पालमुनि गाउँवासीले रात कटाउने गरेका छन्।

उनीहरूका घर भित्रबाट धुजाधुजा भएको छ। गौमुल-२ का जडेगाउँ, आगर, दहकोट, गताडी, गुम्फा काडा, जुरेली र रनेडालगायत बस्तीका बासिन्दा घरविहीन बनेका छन्।

जुरेली, दहकोट, अगरलगायत ठाउँका जमिन पनि चिरा परेका छन्। त्यहाँका सबै बासिन्दा पाल र तरकारीका लागि बनाइएका टनेलमा बस्दै आएका छन्।

जडेगाउँमा १८, आगरगाउँमा २५, दहकोटका ३३, गताडी टोलका ६ परिवार, गुम्फाकाँडा बस्तीका १८, जुरेलीका २५ र रनेडाका ४० घरपरिवार पालमा बस्दै आएको गौमुल गाउँपालिका-२ का वडा सदस्य प्रेम रोकायाले बताए।

उनीहरू विगत तीन वर्षदेखि विभिन्न विपद् सहन बाध्य छन्। तीन वर्षअघि बाढी आउँदा खेत बगायो, त्यसपछि उनीहरू यहाँ सरे। अब यहाँबाट पनि भूकम्पले उठिबास लगायो।

उनीहरूसँग न बस्ने घर रह्यो, न खाने जमिन रह्यो। उनीहरूले यो पाल हालेर बसेको ठाउँ पनि अरूकै जमिन हो। जुरेलीका भक्त रोकाया विगत सम्झिँदै भक्कानिए। भूकम्पमा परी ज्यान गुमाएका व्यक्ति उनकै परिवारकी जमुना रोकाया थिइन्।।

जमुनाको भूकम्पमा परी मृत्यु भएको थियो। घाँस काटिरहेका वेला माथिबाट खसेको ढुङ्गा लाग्दा उनको मृत्यु भएको थियो।

भूकम्पपीडितले पालमुनि कठ्याङ्ग्रिदो चिसोमा रात बिताइरहेका छन्। भूकम्पपीडित बिचल्लीमा हुँदा पनि सरकारले ध्यान दिएको छैन। भूकम्पबाट पीडित गौमुल गाउँपालिका-२ का बासिन्दालाई बालबालिका र वृद्धवृद्धालाई बचाउन सकस परेको छ। भूकम्पले घरभित्र पस्न नसक्ने गरी चर्किएकाले चिसोबाट बालबालिका र वृद्धवृद्धा बचाउन सकस परेको आँगरकी सीता चदाराले बताइन्।

भूकम्पले घरबारविहीन भएर खोलाको किनारमा त्रिपालको रात कटाउँदै आए पनि चिसोले कठ्याङ्ग्रिएर बालबालिका बचाउन समस्या भएको उनको गुनासो थियो। सुत्केरी महिला र नवजात शिशुलाई समेत चिसोबाट बचाउन समस्या भएको छ।

समाचार