मेयर र उपमेयरकाे ताेक आदेशमा जागिर खाएका ७१ जनालाई हेटाैँडा उपमहानगरले हटायाे

कवानपुर – हेटौँडा उपमहानगरपालिकाले करारमा कार्यरत ७१ जना कर्मचारीलाई हटाएको छ । उपमहानगरले करार र ज्यालादारीमा कार्यरत कर्मचारीलाई हटाएको हो । उपमहानगरकाे कार्यपालिका बैठकको निर्णयले एकै पटक यति धेरै सङ्ख्यामा कर्मचारी हटाएको हो ।

मेयर र उपमेयरको तोक आदेशमा जागिर खाएका ७१ जना कर्मचारीलाई हटाइएको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले बताउनुभयाे । उपमहानगरले चौथो तह, पाँचौँ तह र छैटाैँ तहसम्मका ७१ जना कर्मचारी हटाएको हो । उपमहानगरपालिकामा कार्यरत कम्प्युटर अप्रेटर, स्वास्थ्य, प्रशासन, प्राविधिक कर्मचारी हटाइएको प्रवक्ता न्यौपानेले बताउनुभयो । परीक्षाको सामान्य प्रक्रिया पनि पूरा नगरिकन तोक आदेशका भरमा जागिर खाएकाहरूलाई हटाइएको उहाँकाे भनाइ छ । 

उपमहानगरपालिकामा लामो समयदेखि काम गर्ने कर्मचारीदेखि भर्खर नियुक्त भएका कर्मचारीसमेतलाई हटाइएको हो । साउनदेखि पुस मसान्तसम्मका लागि करार गरिएका कर्मचारीको म्याद नथपिएको उपमहानगरले जनाएको छ ।

समाचार