नेता भण्डारीलाई थप उपचारका लागि विदेश लैजान चिकित्सकको सुझाव

ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते भएका कांग्रेसका नेता चन्द्र भण्डारी र उनकी आमा हरिकलालाई थप उपचारका लागि विदेश लैजान कीर्तिपुर अस्पतालले  सुझाव दिएको छ।

स्रोत साधन अभावका कारण यहाँ उपचार असम्भव रहेको भन्दै अस्पतालले थप उपचारका लागि यथाशीघ्र विदेशका सुविधासम्पन्न लैजान सिफारिस गरेको हो।

अस्पतालकी मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकार र जलन उपचार विभागका प्रमुख डा. किरण नकर्मीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेता भण्डारीको शरीरको २५–३० प्रतिशत र हरिकलाको करिब ७० प्रतिशत भाग जलेको जनाइएको छ। 

काठमाडौंको बुद्धनगरस्थित निवासमा गएराति १० बजेतिर ग्यास सिलिण्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा हरिकला भण्डारी पनि गम्भीर घाइते भएका थिए। लगत्तै उनीहरूलाई कीर्तिपुर अस्पतालमा लगी आईसीयूमा राखेर उपचार भइरहेको छ। 

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राति नै अस्पताल पुगेर भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। ​ कांग्रेसका महामन्त्री गगन थापा, नेता प्रदीप पौडेललगायत नेता बिहानै अस्पताल पुगेर भण्डारीको स्वास्थ्य अवस्था बुझेका छन्। 

एमालेका केही नेता पनि भण्डारीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन्।

हेर्नुहोस् अस्पतालको विज्ञप्ति–

राजनीति समाचार