‘सरकारले शिक्षामा व्यापार मात्र गरिरहेको  छ’- पूर्व-प्रधानन्यायाधीश सुशीला कार्की

 पूर्व-प्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार मात्र  गरिरहेको आरोप लगाएकी छन्।

शुक्रबार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन्। उनले सरकारले शिक्षा,  स्वास्थ्य सहितका हरेक कुरामा व्यापार गरिरहेको बताइन्।

उनले शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण अधिकांश आर्थिक स्थिति कमजोर रहेका नेपालीहरुले छोराछोरीहरुलाई अध्ययन गराउन नसकेको बताइन्।

उनले सरकारले दिइरहेको स्कलरसिप र सहुलियत कसले पाउँछ त्यो पनि थाहा नहुने गरी काम भइरहेको भन्दै आपत्ति जनाइन्। उनले आर्यघाटमा पुर्‍याएको शवमाथि पनि व्यापार हुने र जलाउनको लागि चन्दा संकलन गर्नुपर्ने अवस्था समाजमा देखिएको बताइन्।

उनले भनिन्, ‘अहिले त के भयो भयो, शिक्षा व्यापार, स्वास्थ्य व्यापार, हरेक कुरामा व्यापार छ। कतिपय आमाबुबा रोएको देख्छु, पढाउने इच्छा छ, डाक्टर बनाउने इच्छा छ। डाक्टर बनाउने, इन्जिनियर बनाउने इच्छा राखेका छन्। बुबाआमालाई पनि पढाउने रहर छ, छोराछोरीलाई पनि पढ्ने रहर छ तर हैसियत छैन। जग्गा बेचेको छ, ऋण लिएको छ, घर जग्गा यी कुराहरु केही पनि होइनन्। पढाइका अगाडि घर, जग्गा केही होइनन्। आफ्ना घरका सन्तानलाई राम्रोसँग पढाएको रहेछ भने सन्तान राम्रोसँग पढ्नु नै सम्पती हो। छोराछोरीले कमाएर खाएको घर नै उज्यालो र राम्रो हुन्छ। स्कलरसिप कसले पाउँछ, सरकारले दिने सहुलियत कसले पाउँछ त्यो पनि थाहा छैन। शिक्षा व्यापार भएको छ। पहिला त्यस्तो थिएन। पहिला गरिबका बच्चाले पनि चाहँदा पढ्न सक्थ्यो। गरिबका छोराछोरी पनि डाक्टर बन्नसक्थ्यो। अब अहिले पैसा नभइ केही पनि हुँदैन। आर्यघाटमा जल्न त महंगो भइसक्यो। कसले डोनेसन देला र दाहसंस्कार होला, कसले डोनेसन देला र लास जल्ला भन्ने भइसक्यो। समाज यो अवस्थामा पुगिसकेको छ।’

पूर्व-प्रधानन्यायाधीश कार्कीले शिक्षामा व्यापार हुन्जेलसम्म सामाजिक उत्थान हुन नसक्ने बताइन्। उनले नागरिकलाई गाँस, बास र कपासका साथै शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता सरकारले गर्न नसकेको भन्दै राजनीतिक दलहरु एउटा कुर्सीको भिडेर बसिरहेको बताइन्। उनले सरकारमा बस्नै सबै व्यापारीहरु रहेको उल्लेख गरिन्।

राजनीति समाचार