सदस्यहरूले गैनकानुनी काम गरेको भन्दै औषधि उत्पादक संघको आपत्ति

 नेपाल औषधि तथा बिक्रि प्रतिनिधि सङ्घ (एनएमएसआरए) संस्थाका केही सदस्यहरूले गैरकानुनी काम गरेको भन्दै औषधि उत्पादक सङ्घसहितका संस्थाले आपत्ति जनाएको छ।

नेपाल औषधि उत्पादक सङ्घ, नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घ, नेपाल मेडिकल एसोसियसन, नेपाल औषधि व्यावसायी सङ्घ, रसायन तथा मेडिकल आपूर्ति सङ्घ, नेपाल औषधि बिक्री प्रबन्धक सङ्गठन, एशोशियसन अफ प्राईभेट हेल्थ ईन्सिटच्युसन नेपालले संयुक्तरुपमा एक  विज्ञप्ति जारी गर्दै औषधि जस्तो संवेदनशील एवं अत्यावश्यक वस्तुको आपूर्तिमा असहज गराउने कार्य जनस्वास्थ्य प्रतिको खेलवाड रहेको भन्दै आपत्ति जनाएको हो।

संघले  नेपालमा औषधिको बजारीकरण गर्ने सम्बन्धमा विभिन्न बहानामा बजारमा कार्यरत कर्मचारीहरूलाई विभिन्न हुल, समूह, संस्थाको नाममा कार्य गर्न निषेध गर्ने, कार्यस्थलमा व्यवस्थापक, निर्देशकलगायत कर्मचारीहरू पूर्वस्वीकृति लिएर मात्र चिकित्सक,थोक बिक्रेता, औषधि पसल, अस्पताल समेतमा कार्य गर्नुपर्ने क्रियाकलाप नेपालको संविधान र विद्यमान कानुनविपरीत रहेको जनाएको छ। 

विज्ञप्तिमा भनिएको छ ‘औषधि जस्तो संवेदनशील एवं अत्यावश्यक वस्तुको आपूर्तिमा असहज गराउने कार्य जनस्वास्थ्य प्रतिको खेलवाड हो। नेपालमा औषधीको बजारीकरण गर्ने सम्बन्धमा बिभिन्न बहानामा बजारमा कार्यरत कर्मचारीहरुलाई बिभिन्न हुल,समुह,संस्थाको नाममा कार्य गर्न निषेध गर्ने,कार्यस्थलमा ब्यबस्थापक(Managers), निर्देशक (Directors) लगायत कर्मचारीहरु पूर्व स्वीकृती लिएर मात्र चिकित्सक,थोक बिक्रेता, औषधी पसल, अस्पताल समेतमा कार्य गर्नुपर्ने क्रियाकलाप नेपालको संबिधान र बिद्यमान कानुन विपरीत रहेको छ। यस बिषयमा हामी स्वास्थ्य सम्बद्ध संस्थाहरु ऐक्यबद्धता जनाउँदै यस्ता प्रकारका गैह्रकानुनी कार्य कसैले नगर्न, नगराउनुहुन सम्बन्धित निकायहरुलाई यसै बिज्ञप्तीमार्फत अपिल गर्दछौँ।’

गैह्रकानुनी रुपमा कर्मचारीहरूलाई काम गर्न निषेध गर्ने, जबरजस्ती रकम असुलि गर्ने,हुलहुज्जत गर्ने, धम्कि दिने जस्ता कार्यको कानुनी उपचार खोज्नु हामी सबैको अधिकार हो भन्दै कानुनी राज्यको अवधारणा बमोजिम अगाडि बढ्नु सबैको दायित्व रहेको पनि संघले जनाएको छ।

यसका साथै यस्ता प्रकारका क्रियाकलापमा कोहि कसैलाई पनि संलग्न नहुन पनि आग्रह गरिएको छ। यस्तो प्रकारको क्रियाकलापमा संलग्न भई नेपालको संविधान र विद्यमान कानुन बमोजिम उपचार खोजिने क्रममा कोहि कारबाहीको भागेदार भएमा हामी जिम्मेवार नहुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। 

समाचार