हेटौंडा अस्पातालको नयाँ भवनको उद्घाटन गर्न मंगलबार राष्ट्रपति भण्डारीआउँदै

हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारी बागमती प्रदेशको राजधानी हेटौंडा स्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पातालको नयाँ भवनको उद्घाटन गर्न यहि फागुन ९ गते मंगलबार हेटौंडा आउँदै छिन् ।

राष्ट्रपति भण्डारी आउने कार्यक्रम तय भएसँगै प्रतिष्ठानले तयारी तीब्र पारेको छ । आइतबार अस्पतालमा पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले कार्यक्रमको तयारी तीब्र पारिएको बताए । उनले कार्यक्रम सफल बनाउनको लागि प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरेर चार उपसमिति बनाएर तयारी तीब्र पारिएको बताए ।

उनका अनुसार राष्ट्रपति भण्डारी मंगलबार बिहान ११ बजे कार्यक्रम स्थल आइपुग्ने कार्यक्रम तय भएको छ । रजिष्ट्रार प्रसाईका अनुसार कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामा, प्रतिष्ठानका सहकुलपति तथा प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, प्रतिष्ठानका कुलपति समेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले शुभकामना मन्तव्य दिनेछन् ।

राष्ट्रपति भण्डारीले उद्घाटन गर्न लागेको अस्पतालको नयाँ भवन संघीय सरकारको ३० करोड लगानीमा निर्माण भएको अस्पतालले जनाएको छ । विगतमा ५० बेडको हेटौंडा अस्पताल हाल २ सय बेडको सुविधा सम्पन्न अस्पतालमा परिणत भएको छ ।

नयाँ भवन निर्माण भएसंगै हेटौंडा अस्पतालले आफ्ना सेवाहरु र जनशक्ति थप गरेर उपचारको कामलाई गुणस्तरिय बनाउँदै लगेको छ । तीन तले अस्पताल भवनको पहिलो तलामा आकस्मिक सेवा, काउन्टर, ल्याब तथा फार्मेसी सञ्चालन भइरहेको छ भने अन्य तलामा बेडहरु व्यवस्थित गरिएको अस्पतालले जनाएको छ । नयाँ भवन निर्माणसँगै अस्पतालको इमरजेन्सी बेड संख्या ८ बाट २४ वटामा वृद्धि भएको छ ।

यसैगरी अस्पतालमा बागमती प्रदेश सरकारले लगानी गरेको छ । प्रदेश सरकारले निर्माण प्रारम्भ गरेको ५२ करोड लागतको ६ तले अर्को भवन निर्माणाधीन रहेको छ । उक्त भवन बनिसकेपछि अस्पताललाई तीन सय बेड सम्मको अस्पताल बनाउने योजना रहेको छ ।

अस्पतालमा हाल ५७ जना चिकित्सकहरु कार्यरत रहेकोमा ३८ जना विषेशज्ञ डाक्टरहरू रहेका छन् । अस्पतालमा मेडिकल अधिकृत १९ जना रहेका छन् भने नर्सिङ अधिकृत ५ जना, स्टाफ नर्स ३८ जना समेत गरेर २ सय जना स्वास्थ्यकर्मी अस्पतालमा कार्यरत रहेका छन् ।

हाल अस्पतालमा १७ बेडको आइसियू, २० बेडको एचडीयू, ६ बेडको डायलिसिस सेवा सञ्चालन रहेको छ । अस्पतालले ५०० बेडको लागि पर्याप्त हुने अक्सिजन प्लान्ट जडान गरेको छ । अस्पतालले पछिल्लो पटक मनोरोगको विशेषज्ञ सेवा सञ्चालन गरेको अस्पतालले जनाएको छ । नयाँ भवन बन्नुअघि दैनिक ४ सय जनालाई मात्रै सेवा प्रदान गर्दै आएको अस्पतालले हाल दैनिक ७ सय जनाभन्दा बढीलाई सेवा दिइरहेको छ ।

समाचार समाज