गाडीको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु

वीरगञ्ज । पर्सामा आज बिहान गाडीको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ठोरी गाउँपालिका–४ विजयबस्तीका विश्वास श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बिहान ८ बजेको समयमा हुलाकी राजमार्ग अन्तर्गत वीरगञ्ज–ठोरी सडकखण्डको विजयबस्तीमा बागमती प्रदेश नं १–०२७ च ०३०३ नम्बरको स्कारपियोले ठक्क दिँदा उनी गम्भीर घाइते भएका थिए ।

स्कारपियोको ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि वीरगञ्जस्थित तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा लगिएको थियो । उनको उपचारको क्रममा बिहान सवा १० बजे अस्पतालले उनको मृत्यु भएको घोषणा गरेको पर्सा प्रहरीले जनाएको छ ।

स्कारपियोसहित चितवन माडी नगरपालिका– ३ घर भएका चालक पदम बिलास पन्तलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

समाज