चण्डीका माविले मनायो ४४ औं वार्षिकोत्सब

१२ फागुन,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका–२, शिखरकटेरी स्थित चण्डिका माविले हिजो ४४ औं वार्षिकोत्सव विशेष कार्यक्रमको आयोजना गरि मनाएको छ ।

विद्यालयको वार्षिकोत्सवको अवसरमा विद्यार्थीले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यालयले आयोजना गरेको कार्यक्रममा विद्यार्थीले नृत्य, गायन कला प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार लामा गोलेको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यमा विद्यालयको वार्षिकोत्सव समारोह मनाइएको विद्यालयका प्रधानाध्यापक कमल फयलले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले विद्यालयको लागि आबश्यक भौतिक संरचना निर्माण गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । प्रदेश सरकारकै बजेटमा आगामि बैशाष देखि विद्यालय बसको ब्यबस्था गर्ने तयारी भएको पनि बताउनु भयो । विद्यालयको छाना जिर्ण भएर पानी चुहिने अबस्थाको छिटै अन्त्य हुने भन्दै विद्यालय शिक्षालाई प्रभावकारी बनाउन शिक्षक, विद्यार्थी र अभिभाबकको महत्वपुर्ण भुमिका हुने बताउनु भयो ।

यस्तै कार्यक्रममा विशेष अतिथि मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले आफु शिक्षा क्षेत्रबाट आएको जनप्रतिनिधि भएकोले शिक्षाको बिकासमा बिशेष ध्यान दिने बताउनु भएको छ । आफुले चण्डिका माबि बाटै अध्यापन सुरु गरेको र रिटायर पनि यसै विद्यालयबाट भएकोले चण्डिका माबि प्रति आफ्नो सधै चासो रहने र विद्यालयको समस्या समाधानमा लागि रहने बताउनु भयो ।

मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष मान कुमारी पाख्रिन नेपालीले शैक्षिक क्षेत्रमा मकवानपुरगढी गाउँपालिकाले फड्को मार्नु पर्छ भनेर काम गरिरहेको बताउनुभयो । गाउँपालिकाले शिक्षा क्षेत्रको बिकासमा पञ्च बर्षिय शैक्षिक रणनिति बनाएर काम गर्ने उहाँको भनाई रहेको छ ।

बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक फुयालले वार्षिक योजना प्रस्तुत गर्नुभएको थियो । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि गरिएको प्रयासहरुको जानकारी गराउनुहुँदै प्रधानाध्यापक फुयालले विद्यालय व्यवस्थापन समितिमा विद्यार्थीहरु ऋतिक थिङ र प्रजिता बिकलाई आमन्त्रित सदस्यको रुपमा समावेश गरिएको जानकारी दिनुभयो ।

विद्यालयलाई पूर्णतः निशूल्क गराउने प्रयास भइरहेको र अंग्रेजी माध्यमको नाममा अभिभावकसँग शूल्क नलिने योजनासहित तयारी भइरहेको पनि प्रधानाध्यापक फुयालले जानकारी गराउनुभएको छ । १२ कक्षासम्म पठनपाठन हुने चण्डिका माविमा २ सय ५४ जना विद्यार्थी अध्ययनरत छन् ।

शिक्षा समाचार स्थानीय