प्रचण्ड–ओली ‘निर्णायक’ वार्तामा

 राष्ट्रपति निर्वाचनका विषयमा सत्तारुढ दुई प्रमुख घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्र निर्णायक छलफलमा जुटेका छन्। 

माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग निर्णायक छलफल गर्न एमाले अध्यक्ष केपी ओली बालुवाटार पुगेका छन्।दुई नेताबीच राष्ट्रपतिको निर्वाचनका विषयमा कुराकानी हुने बताइएको छ।

यसअघि पटक पटक भेट भए पनि दुई नेताबीच राष्ट्रपतिका विषयमा कुरा मिलेको छैन। राष्ट्रपतिमा राष्ट्रिय सहमतिको चर्चा गर्दै आएका प्रचण्डले शुक्रबारै भएको पुरानो गठबन्धन दलको बैठकमा राष्ट्रपतिमा कांग्रेसलाई सघाउने सहमति गरेका छन्। 

पुस १० मा प्रधानमन्त्री नियुक्त हुँदा एमालेलाई राष्ट्रपति दिने सहमति गरेका प्रचण्डले बोली फेरेको भन्दै एमाले असन्तुष्ट छ। 

शनिबार उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले एमालेले प्रधानमन्त्री प्रचण्डसँगको छलफलपछि थप निर्णय गर्ने तयारी गरेको छ। उसले शनिबार बिहान पार्टी सचिवालय बैठक बोलाएको छ। 

कांग्रेससहित माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले शुक्रबारै साँझ ५ बजे पुनः संयुक्त बैठक बसेर साझा निर्णय गर्ने तयारी गरेका छन्। 

राजनीति समाचार