गोविन्द कोइरालालाई जेनेभा पठाएपछि मन्त्रीले उठाइन् कानूनी वैधतामाथि प्रश्न

: परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को ५२ औँ सभामा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै पूर्व कानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोईरालालाई पठाउने सरकारको निर्णयको कानूनी वैधता माथि प्रश्न उठाएकी छन्। 

सोमबार राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री पौडेलले मन्त्री परिषद्को निर्णय अनुसार आफूले नेतृत्व गर्दै ५ सदस्य टोली आइतबार जेनेभा जाने तय भएपनि प्रधानमन्त्रीको निर्देशन अनुसार आफू जान नपाएको बताइन्। 

मन्त्रिपरिषद्ले विज्ञको रूपमा पूर्व कानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालालाई आफूसँगै टोलीमा जाने निर्णय गराएपनि अन्तिममा उनलाई नै नेपालको नेतृत्व दिइएको भन्दै पौड्यालले असन्तुष्टि व्यक्त गरेकी हुन्। 

उनले कार्यकारीले नेतृत्व गर्ने टोलीमा विज्ञले नेतृत्व गरेको भन्दै त्यसको कानूनी वैधतामाथि प्रश्न उठाइन्। कोइरालालाई सरकारको सल्लाहकारका रूपमा नियुक्ती गरेर सल्लाहकारको हैसियतमा पठाइएको सुनेको भन्दै सल्लाहकार नियुक्तिका लागि औपचारिक निर्णय नभएको उनको भनाई छ। 

‘जसलाई विज्ञ भनेर हामीले टोलीमा समाहित गरेका थियौँ। उहाँले नेपालको टोलीको नेतृत्व गर्ने भन्ने खालको कुरा आएको छ। तर औपचारिक रूपमा यसको निर्णय भइसकेको मलाई थाहा छैन। र सल्लाहकारमा नियुक्त गरेर अख्तियारी दिने हो कि भन्ने कुरा पनि हामीले सुनेका छौँ। तर यसको कानूनी हैसियत के हो ?उनले भनिन्, ‘कार्यकारीले नेतृत्व गर्ने सभामा सल्लाहकारले नेतृत्व गर्न मिल्छ कि मिल्दैन ? अथवा विज्ञले नेतृत्व गर्न मिल्छ कि मिल्दैन ? यस्ता केही कानूनी कुराहरू छन्। जसलाई प्रष्ट पार्नुपर्ने जरूरी हुन्छ। संसदमा मैले यसको ध्यानाकर्षण गराउनुपर्छ भनेर यो विषय यहाँ प्रस्तुत गरेँ।’

उनले नेपालको संक्रमणकालिन न्यायको सम्बन्धमा बेला बेलामा प्रश्न उठ्ने गरेको भन्दै त्यसलाई पीडितमैत्री बनाएर टुंग्याउनुपर्ने बताइन्। मन्त्री पौड्यालले मानव अधिकारको क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय विश्वसनीयता गुमाउनु नहुनेमा जोड दिइन्। 

मन्त्री पौडेलले आफू परराष्ट्रमन्त्री भएको ४२ दिन भएको स्मरण गराउँदै सानो काम गरेर ठूलो प्रभाव पर्ने खालको धेरै काम गरेको बताइन्। उनले नबोलाएका विदेशी अधिकारीहरू नेपाल भ्रमणमा आउँदा देशको राजनीतिक वातावरण समेत खल्बल्लिने गरेको भन्दै उनीहरूको भेटहरूमा अनिवार्य परराष्ट्र मन्त्रालयको उपस्थिति हुनुपर्ने कुरा मन्त्रिपरिषद्बाट निर्णय गराएको बताइन्। 

राजनीति