भद्रपुर गोल्कपको उपाधिका लागि आर्मी र मछिन्द्र भिड्दै

भद्रपुर झापा गोल्डकप फुटबलको उपाधिका लागि आज मछिन्द्र क्लब  र त्रिभुवन आर्मी क्लबबीच खेल हुँदैछ।  

सिजनको दोस्रो उपाधि जित्ने दाउसहित लिग विजेता मछिन्द्र भद्रपुरस्थित मेची रंगशालामा उत्रन लागेका हुन्। खेल मध्यान्ह १२ बजे सुरु हुनेछ।

एक साताअघि सर्लाहीमा राजर्षि जनक कप जितेको मछिन्द्र भद्रपुर झापा गोल्डकपमा विजयी हुनेमा विश्वस्त रहेको प्रशिक्षक प्रवेश कटुवालको दाबी छ।

विभागीय टोली आर्मीका प्रशिक्षक राजु तामाङले मछिन्द्र सशक्त प्रतिद्वन्द्वी भएको बताए । उनले आफूहरू पनि लिगको दोस्रो टिम भएकाले भद्रपुर झापा गोल्डकपको फाइनलमा नतिजा निकाल्ने गरी रणनीति बनाएर मैदान उत्रिने बताए । 

सेमिफाइनलमा आर्मीले संकटा क्लबलाई र मछिन्द्रले एपीएफ क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन्। विजेताले १३ लाख र उपविजेताले ७ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्ने गोल्डकप आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिए।

सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, फरवार्ड, फाइनलका पहिलो गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँले पुरस्कृत गर्ने आयोजकका महासचिव जीवनकुमार श्रेष्ठले जनाए।

खेलकुद