सांसदहरूलाई आन्तरिक प्रशिक्षण दिने आठ दलको निर्णय

आठ दलीय गठबन्धनले आफ्ना सांसदहरूलाई राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरेर आन्तरिक प्रशिक्षण दिने निर्णय गरेको छ।

मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको गठबन्धन कार्यदलको बैठकले मौन अवधि सुरु भइसकेकाले आन्तरिक रुपमा प्रशिक्षित गर्ने निर्णय गरेको जनता समाजवादी पार्टी जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।

‘सबै मतदातालाई प्रशिक्षित गर्ने कुरा भएको छ। मौन अवधि रहेकोले आ-आफ्नो पार्टीभित्र सांसदहरूलाई राष्ट्रपति चुनावमा कसरी मतदान गर्नेलगायतबारे जानकारी गराइन्छ’, श्रेष्ठले भने, ‘सांसदहरूलाई मतदान गर्न सिकाइरहनु त पर्दैन। तर यसपटक मतपत्रमा स्वस्तिक छाप लगाउने हो भन्ने कुरा आन्तरिक रूपमा भन्ने हो।’

उनका अनुसार कार्यदलले राष्ट्रपति निर्वाचनका मतदाता संघ तथा प्रदेशका सांसदहरुलाई भोलि बुधबार विहान ११ बजेसम्म काठमाडौं आइसक्न निर्देशन दिइएको छ।

विभिन्न समस्या पर्नसक्ने भएकाले समयमै काठमाडौं आउन सांसदहरूलाई भनिएको श्रेष्ठको भनाइ छ।

कार्यदलका संयोजक कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचन तयारीबारे बैठकमा छलफल गरिएको जानकारी दिए। ‘राष्ट्रपति निर्वाचनबारे प्रचारप्रसार अहिले गर्न मिल्दैन। मौन अवधि छ,’ उनले भने, ‘राष्ट्रपति निर्वाचन तयारी तथा व्यवस्थापनबारे कुराकानी गरिएको हो।’

गठबन्धन आवद्ध दलका मतदातालाई संयुक्त रूपमा प्रशिक्षण दिने कार्यक्रम स्थगित गरिएको खड्काले बताए। ८ दलले राष्ट्रपति निर्वाचनको अघिल्लो दिन बुधबार काठमाडौंमा सबै सांसदलाई संयुक्त प्रशिक्षण दिने निर्णय गरेका थिए। गएराति देखि नै मौन अवधि सुरु भइसकेका कारण संयुक्त प्रशिक्षण दिने कार्यक्रम स्थगित गरिएको खड्काले बताए।

नेकपा एकीकृत समाजवादीका महासचिव डा बेदुराम भुसालले राष्ट्रपति चुनावलगायत विषयमा छलफल गरिएको बताए। ‘गठबन्धनलाई थप व्यवस्थित रूपमा अघि बढाउनेजस्ता विषयमा पनि छलफल भएको छ,’ उनले पत्रकारहरूसँग भने।

उनले शक्ति बाँडफाँटलगायत विषयमा भने बैठकमा छलफल नभएको बताए।

राष्ट्रपति चुनावमा संघीय संसदका दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य तथा सातै प्रदेशका प्रदेशसभा सदस्य मतदाता हुन्छन्।

यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ। ८ दलबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रपति पदका लागि उम्मेदवार छन्।

राजनीति