फागुन २५ र २६ गते महिला स्वास्थ्य सम्मेलन हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २५ र २६ गते महिला स्वास्थ्य सम्मेलन गर्ने भएको छ। स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो। 

महाशाखाका निर्देशक डा विवेककुमार लालले सम्मेलन महिला स्वास्थ्यको बहुआयामिक विषयवस्तुमा केन्द्रित हुने बताए। सम्मेलनमा यौन, तथा प्रजनन स्वास्थ्य र अधिकार, नसर्ने रोग, बालबालिका, किशोरकिशोरी र ज्येष्ठ नागरिकको स्वास्थ्य, मानवीय सहायता आवश्यक पर्ने अवस्थामा महिला स्वास्थ्य र पोषणसम्बन्धी विषयमा छलफल हुने जानकारी उनले दिए।

सम्मेलनमा महिला स्वास्थ्यबारे ८५ वटा कार्यपत्र प्रस्तुत गरिनेछ। सम्मेलनमा देशभरिका महिला स्वास्थ्यको क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेका सरकारी, गैरसरकारी संस्था, प्रतिष्ठान, शिक्षण संस्थालगायतका ३ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्।

सम्मेलनमा महिला स्वास्थ्यका विषयमा कार्यरत अनुसन्धानकर्ता, विद्वान एवम् विज्ञ र कार्यक्रमका कार्यान्वयन कर्ताबाट उपलब्ध भएका तथ्यांक, तथ्य, सिकाइ र दृष्टिकोणमाथि छलफल गरिनेछ। यस्तै महिला स्वास्थ्य क्षेत्रमा भएका नवीन प्रयास र सफलतामाथि पनि छलफल गरिनेछ।

विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले महिला स्वास्थ्यमा प्राप्त भएका उपलब्धि, चुनौती तथा अवसर, अन्वेषण विकसित घटनाक्रम र तथ्याङ्कको सम्मेलनमा छलफल हुने बताए।

महिला स्वास्थ्यको विषय विस्तार गर्न र सशक्त बनाउन अनुसन्धान, क्षमता, अभिवृद्धि, नीति निर्माण र पैरबीबीच अन्योन्याश्रित सम्बन्ध सशक्त बनाउन सम्मेलन गर्न लागिएको हो। 

स्वास्थ्य