जनकपुरधाममा आज होली मनाइँदै

जनकपुरधाममा बुधबार होली मनाइँदै छ।

तराई–मधेशका अन्य जिल्लामा मंगलबार नै होली मनाइए पनि १५ दिने मिथिला मध्यमा परिक्रमा तथा अन्तःगृह परिक्रमाका कारण यहाँको होली एक दिन पछि सरेको हो। मध्यमा परिक्रमा मंगलबार सम्पन्न भएपछि बुधबार यहाँ होली मनाउन लागिएको हो। 

यो दिन कुल देवतालाई अबिर, सिन्दूर, चढाइ पूजा गर्ने र एकआपसमा होली खेली विभिन्न परिकार बनाई खुशीयाली बाँड्ने मिथिलाञ्चलको चलन छ। जनकपुरधाम होलीका गीतसंगीतले बिहानैदेखि गुञ्जायमान भएको छ। 

होलीका अवसरमा मधेश प्रदेश सरकारले जनकपुरधाममा आज पनि सार्वजनिक बिदा दिएको छ। 

पुराणका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा होली मनाइन्छ।​यसैगरी द्वापरयुगमा कंसद्वारा बालक श्रीकृष्णलाई मार्न ​पठाइएकी पुतना मारिएको खुशीयालीमा व्रजवासीले फागु उत्सव चलाएको पनि बताइन्छ। 

यी प्रसंगलाई खराब प्रवृत्तिको अन्त्यका रूपमा लिई त्यसैको खुशीयालीमा रंग र अबिर दलेर होली मनाउने परम्परा रहेको मान्यता छ। ​ 

समाचार