प्रचण्ड, देउवा र माधव नेपालले खसाले मत

काठमाडौं : बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा राष्ट्रपति निर्वाचनको मतदान जारी छ। 

राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालले पनि मतदान गरेको  राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्मालेले जानकारी दिइन्। 

उनका अनुसार राष्ट्रपतिका उम्मेदवार पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिलो मत खसाले। राष्ट्रपति पदमा दुईजना उम्मेदवार छन्। पूर्व सभामुख एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि मत खसाले। पौडेल नौ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुन भने नेम्वाङले एमालेका तर्फबाट एकल उम्मेदवार दिएका छन्। 

राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कुल आठ सय ८२ मतदाता छन्। सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ।     

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नपाउने संविधानमा उल्लेख छ।

राजनीति