उपराष्ट्रपतिमा गठबन्धनबाटै दुई उम्मेदवार!

उपराष्ट्रपतिमा आठ दलीय गठबन्धनबाट दुई उम्मेदवार देखिएको छ। यसअघि जनता समाजवादी पार्टी (जसपा)ले उपराष्ट्रपति पाउने सहमति भएको भन्दै उम्मेदवार पनि छानिसकेको छ।

बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बारा २ बाट प्रतिनिधिसभामा निर्वाचित रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। 

त्यसको भोलिपल्ट शुक्रबार नागरिक उन्मुक्ति पार्टीले पनि अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। जसपा र नागरिक उन्मुक्ति दुवै पार्टी सत्ता गठबन्धनमै छन्। 

शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए। 

‘हाम्रो संसदीय दलको बैठकले अध्यक्षज्यूलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेको छ’, चौधरीले थाहाखबरसँग भने, गठबन्धनमा कुरा भएको छैन, हामी गठबन्धनमा थप छलफल गर्छाैं।’

निर्वाचन आयोगले पुरुष राष्ट्रपति निर्वाचित भएकाले महिला हुनुपर्ने भन्ने खालको कुरा गरेपछि आफूहरूले श्रेष्ठलाई अघि सारेको उनको भनाइ छ। 

यसअघि शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पनि उपराष्ट्रपति जसपालाई दिने सहमति भइनसकेको बताएका थिए। 

चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि भोलि शनिबार उम्मेदवारी दर्ताको समय तोकिएको छ।

राजनीति