विश्वप्रकाशको प्रस्ताव : राष्ट्रपति एक र प्रधानमन्त्री दुई पटकभन्दा बढी बन्न रोकौं

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन्। 

राजनीतिमा मान्छेहरूलाई आकर्षित गर्नका लागि पनि एक पटक राष्ट्रपति, २ पटकसम्म प्रधानमन्त्री, ३ पटकसम्म मन्त्री र ४ पटकसम्म सांसद हुने व्यवस्था गर्नु उपयुक्त हुने उनको भनाई थियो।

नेपाल ट्रेड युनियन कांग्रेसको मंगलबारबाट काठमाडौंमा सुरू भएको नीति सम्मेलनमा बोल्दै महामन्त्री शर्माले राष्ट्रपति पदमा एउटै व्यक्तिले दोहोर्‍याएर शपथग्रहण गर्न नपाउने व्यवस्था गरेको भए हालसम्म मुलुकले पाँचौ राष्ट्रपति पाईसकेको हुने स्मरण समेत गराए। 

‘एक पटक एउटा मान्छे राष्ट्रपति बन्न पाउने, दोहोर्‍याएर शपथग्रहण गर्न नपाउने भनेको भए अहिले रामचन्द्र पौडेलले शपथग्रहण गर्दैगर्दा पाँचौं राष्ट्रपति देशले पाइसकेको हुन्थ्यो।’ महामन्त्री शर्माले भने, ‘राजनीतिमा रूपान्तरण भन्दा कतिखेर मान्छे आकर्षित हुन्छ भने एउटा मान्छे एकचोटी राष्ट्रपति बनोस्। दुई पटक प्रधानमन्त्रीको शपथग्रहण गरोस्। ३ पटक मन्त्री हुँदै गर्दा आफ्नो सम्पूर्ण योग्यता देखाओस्। ४ पटकसम्म सांसद बनोस्। पाँचौं पटक उसले आर्थिक रूपान्तरणको काममा हात हालोस्।’

उनले भ्यूटावर बनाउने कुरा, एकै पटक धेरै अन्तराष्ट्रिय विमानस्थल बनाउने कुरा मुलुकका लागि आर्थिक बोझको विषय भएको भन्दै असन्तुष्टि व्यक्त गरे। महामन्त्री शर्माले मुलुकलाई प्रतिफल दिन सक्ने आयोजनाहरूको छनौट गरी त्यसलाई अघि बढाउने गरी नीतिगत व्यवस्था गर्न जरूरी रहेको पनि बताए। 

‘हामीले त्यसलाई एउटा राष्ट्रिय रूपमा एउटा उत्पादनको दशक, उत्पादन अभिवृद्धि गराउने, निर्माणको एउटा दशक बनाउने काममा तीव्रता दिने काममा लाग्न सके यसले राजनीतिक रूपमा पनि आकर्षण गराउँछ। हाम्रो अहिलेको पुस्ताले बोक्नै नसक्ने रेलमार्गलगायतका प्रोजेक्टहरू बोकेर जाने कुराले वितृष्णा मात्रै जगाउँछ,’उनले भने। 

महामन्त्री शर्माले राजनीति जनताको आर्थिक रूपान्तरणमा योगदान दिने कुरामा केन्द्रित हुनुपर्ने स्पष्ट पारे।

राजनीति