प्रतिनिधिसभाको रिक्त तीनै स्थानमा वैशाख १० गते उपनिर्वाचन

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि रिक्त दुई  निर्वाचन क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ। तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि दुवै निर्वाचन क्षेत्र रिक्त छ। 

संघीय संसद्ले सोमबार आयोगलाई पत्राचार गरी दुवै निर्वाचन क्षेत्र रिक्त भएको जानकारी गराएपछि आयोगले उपनिर्वाचन गर्ने निर्णय गर्दै निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ। 

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले दुवै क्षेत्रको उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवार मनोनयन हुने तालिकासहितको निर्वाचन कार्यक्रम प्रकाशन गरेको जानकारी दिए।कार्यक्रमबमोजिम मनोनयन दर्ता गराएका उम्मेदवारले चैत २३ गते नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न दिइनेछ। 

चितवन–२ मा समेत आगामी वैशाख १० गते उपनिर्वाचन हुँदै छ। सर्वोच्च अदालतले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने अयोग्य रहेको आदेश गरेपछि सो क्षेत्र रिक्त भएको थियो। उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा उम्मेदवारी दर्तादेखिको कार्यक्रम सँगसँगै अगाडि बढ्ने आयोगले जनाएको छ।

निर्वाचन आयोगको पदाधिकारी बैठकले तीनै निर्वाचन क्षेत्रमा सहभागी हुने राजनीतिक दललाई चैत ८ देखि १२ गतेसम्म आयोगमा दर्ता गराउन आह्वान गरेको छ। आयोगले चैत ५ गतेसम्म आयोगमा दर्ता कायम भएका दलले निर्वाचनमा भाग लिन दर्ताका लागि निवेदन दिन सक्ने जनाएको छ। 

राजनीति