सञ्चारमन्त्री रेखा शर्मा भारत भ्रमणमा

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा भारत भ्रमणमा गएकी छन्। मन्त्री शर्माले बुधबार र बिहीबार नयाँ दिल्लीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछिन्।  

मन्त्री शर्मा बुधबार अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटीयू)को क्षेत्रीय कार्यालय उदघाटनमा सहभागी हुने कार्यक्रम छ। नयाँ दिल्लीमा स्थापना भएको आइटियूको एशिया प्रशान्त क्षेत्रीय कार्यालय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उदघाटन गर्ने कार्यक्रम छ। सो कार्यक्रममा विभिन्न देशका सन्चारमन्त्रीहरुलाई निम्तो दिइएको छ।

त्यस्तै मन्त्री शर्मा बुधबार नै विभिन्न देशका मन्त्रीहरु सहभागी हुने मन्त्रीस्तरीय सम्वादमा सहभागी हुने कार्यक्रम छ।बिहीबार उनले भारतीय समकक्षी अश्विनी वैष्णवसित दुईपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। साथै भारतस्थित नेपाली दूतावास र त्यहाँस्थित नेपाली समुदायले गर्ने कार्यक्रममा पनि उनी सहभागी हुने मन्त्री शर्माका सञ्चारविज्ञ नरेन्द्र केसीले जानकारी दिए।

मन्त्री शर्माका साथ नेपाल दूरसन्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तमप्रसाद खनाल, मन्त्रालयका सहसचिव गौरव गिरी, मन्त्री शर्माका स्वकीय सचिव हेमराज शर्मा पोख्रेल, नेपाल टेलिकमका प्रबन्धक बिमल आचार्य भारत भ्रमणमा गएका छन्। मन्त्री शर्मा शुक्रबार दिउँसो स्वदेश फिर्ता हुने कार्यक्रम छ।

राजनीति