निजामती कर्मचारीका लागि ‘प्रतिभा डबली’ सञ्चालन हुने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीका लागि प्रतिभा डबली कार्यक्रम सञ्चालन गर्ने भएको छ।

आइडिया स्टुडियोसँगको सहकार्यमा मन्त्रालयले निजामती कर्मचारीको प्रतिभा प्रस्फुटनका लागि नवीन सोच, समस्या पहिचान, समाधानका नवीन उपाय र त्यसका फाइदा उल्लेख गरेर चैत ३० गते भित्र आवेदन बुझाउन आह्वान गरेको छ। 

निजामती कर्मचारीमा रहेको प्रतिभा प्रस्फुटन गर्न वार्षिक कार्यक्रमअनुसार सरकारी प्रणाली क्षमता विकास गर्दै नीति तर्जुमा सहयोग, नीति कार्यान्वयन, सेवाप्रवाह तथा विकास निर्माण लगायत सार्वजनिक सरोकारका विषयमा वा व्यक्तिगत जीवनमा आफूमा अन्तरनिहित प्रतिभा उजागर गर्ने अवसर प्रदान गर्न कार्यक्रम सञ्चालन कार्यविधि जारी गरिएको छ।

प्रतिभा डबली कार्यक्रममा सहभागी हुन चाहने संघ, प्रदेश र स्थानीय तहका कर्मचारीले अनलाइनमार्फत अनलाइन प्रस्ताव पेश गर्नसक्ने छन्। प्रस्ताव पेश गर्ने क्रममा प्रतियोगीले अडियो/भिडियो कपीसमेत अपलोड गर्नुपर्ने छ। अडियो भिडियोमा आफ्नो परिचय खुल्ने कुनै किसिमको सामग्री राख्न पाइने छैन। नवीन सोच/‘इनोभेटिभ आइडिया’ पेश गरी शीर्ष १० मा छनोट हुने स्थान प्राप्त गर्ने निजामती कर्मचारीले प्रत्यक्ष  प्रस्तुति दिनुपर्ने छ।

प्रस्तुति टेलिभिजनमार्फत समेत प्रस्तुत गरिने छ। प्रतिस्पर्धाबाट छनोट भएका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने निजामती कर्मचारीलाई सम्मान र पुरस्कार प्रदान गर्ने मन्त्रालयले जनाएको छ।

राजनीति