गण्डकीबाट बाहिरियो माओवादी, अल्पमतमा मुख्‍यमन्त्री अधिकारी

पर्वत : गण्डकी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएको छ। माओवादीले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको छ।

शुक्रबार बसेको माओवादी केन्द्र गण्डकी संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। माओवादीका संसदीय दलका नेता हरिबहादुर चुमानका अनुसार माओवादीका मन्त्रीहरूले शुक्रवार नै मुख्यमन्त्री अधिकारीसमक्ष राजीनामा बुझाउने तयारी गरिरहेका छन्।

नेकपा (एमाले) का अधिकारी नेतृत्वको सरकारमा माओवादीबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा हरिबहादुर चुमान र वन मन्त्रीमा रेसमबहादुर जुग्जाली सहभागी भएका थिए।

एमाले, माओवादी र राप्रपाको सहयोगमा गत पुस २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले तीन महिनाको अवधि पनि पूरा गर्न नपाउने देखिएको छ। माओवादीले आफ्नो समर्थन फिर्ता गरेपछि मुख्यमन्त्री अधिकारीले ३० दिनभित्रमा फेरि पनि विश्वासको मत लिनुपर्छ।

अधिकारीलाई मुख्यमन्त्री बनाउन ३३ जना सांसदहरूले समर्थन गरेका थिए। उनले गत पुस २९ मा विश्वासको मत लिने बेलामा एमालेका २१, माओवादी केन्द्रका आठ र राप्रपाका दुई गरी ३१ जना सांसदहरूले मत दिए।

अधिकारीको विपक्षमा नेपाली काँग्रेसका २७ र मनाङबाट स्वतन्त्र रूपमा चुनाव जितेर पछि नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरे सांसद राजीव गुरुङ (दीपक मनाङे) को एक मत गरेर २८ मत हुने भए पनि मनाङेको अनुपस्थितिले विपक्षमा २७ मत परेका थिए।

माओवादी सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएको औपचारिक जानकारी संसद् सचिवालयलाई गराएपछि मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिनुपर्छ।

समर्थन फिर्ता लिएको बारेमा शुक्रबार नै संसद्मा जानकारी गराउने माओवादीको तयारी छ।

मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउने अवस्था नभएकाले संविधानको धारा १६८(३) अनुसार कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे ठूलो दलको नेताको हैसियतले स्वतः मुख्यमन्त्री बन्ने छन्। गण्डकीमा काँग्रेसका २७, एमालेका २२, माओवादीका ७ (सभामुखबाहेक), राप्रपाका २ र एक जना एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र निर्वाचित सांसद छन्। आफूले विश्वासको मत नपाउने अवस्था रहेकाले मुख्यमन्त्री अधिकारीले मुख्यमन्त्रीबाट राजीनामा दिनसक्ने सम्भावना रहेको एमाले स्रोत बताउँछ।

राजनीति