माओवादी बैठक : मन्त्रिपरिषद्‌बारे छलफल

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक केही बेर अगाडिदेखि बसिरहेको छ। 

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र मन्त्रिमण्डल विस्तारबारे छलफल हुने बताइएको छ। 

पछिल्लो समय मन्त्रालय भागबण्डाको विषय पेचिलो बन्दै जाँदा मन्त्रिपरिषद्‍ले पूर्णता पाउन सकेको छैन। नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि उनीहरूले छाडेका सबै मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्डले सम्हाल्दै आएका छन्।

विश्वासको मत लिएको एक-दुई दिनमै सरकारलाई पूर्णता दिने बताउँदै आएका प्रचण्ड विश्वासको मत लिएको पाँच दिन बितिसक्दा पनि सरकार विस्तार गर्न सकिरहेका छैनन्।

यद्पि, अबको एक दुई दिनभित्रै सरकारलाई पूर्णता दिने दाबी गर्न भने छाडिएको छैन।  माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अबको दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गरेका छन्।

मन्त्रालय बाँडफाँडको विषयमा सत्तारूढ दलहरुबीच किचलो बढिरहेका बेला माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले सो दाबी गरेका हुन्।

शनिबार ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन्।

राजनीति