वीपी राजमार्गमा फोहर फ्याँके जरिबाना तिराइने

वीपी राजमार्गमा फोहर फ्याँक्नेलाई जरिबाना लाग्ने भएको छ । राजमार्गको सुन्दरता कायम राख्न यस्तो व्यवस्था गरिएको हो । 

गाडीका यात्रुले जथाभाबी फोहर फ्याँक्दा राजमार्ग कुरूप र दुर्गन्धित बन्दै गएकाले कमलामाई नगरपालिकाभित्र रहेको राजमार्ग क्षेत्रमा फोहर गर्नेलाई कारबाहीस्वरूप जरिबाना तोकिएको नगरका वातावरण शाखा प्रमुख सागरकुमार ढकालले जानकारी दिनुभयो ।

‘बोमिट ब्याग’ फ्याँक्नेलाई पाँच सय, जङ्कफुडका खोल फ्याँक्नेलाई तीन सय ५० र अन्य फोहर फ्याँके दुई सय रुपैयाँ जरिबाना तोकिएको छ’, उहाँले भन्नुभयो । उहाँका अनुसार प्लास्टिकका बोतल, पराग गुट्खा, जङ्कफुडका खोललगायत अन्य मानवजन्य फोहरका कारण राजमार्गको सुन्दरतामा असर परेको छ । मानवजन्य फोहरको उचित व्यवस्थापन गर्नु आजको चुनौती भएको उहाँले बताउनुभयो । 

कनपाले डिभिजन वन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर साप्ताहिकरूपमा नियमित वृहत् सरसफाइको अभियान गएकाे शुक्रवारदेखि सुरु गरेको छ । ‘आफूसँग भएको फोहर समुचित ठाउँमा राखौँ’, ‘सभ्य नागरिकको परिचय दिउँ’ ‘सुन्दर वीपी राजमार्ग सफाइ अभियानमा सहभागी बनौँ’ भन्ने मुख्य नाराका साथ सुरुआत गरिएको यस अभियानको पहिलो दिन राजमार्गअन्तर्गत रहेको माझिटारदेखि हिरापानीसम्म सरसफाइ गरिएको थियो ।

जापान सरकारले निर्माण गरिदिएको वीपी राजमार्गमा दैनिक हजारौँ सङ्ख्यामा गाडी चल्ने गरेका छन् । गाडीका यात्रुले जथाभाबी फोहर फ्याँक्दा राजमार्गको सुन्दरता बिग्रन थालेको छ । दीगोरूपमा राजमार्गलाई सफा र सुन्दर राख्न प्रत्येक गाडीमा अनिवार्य डस्टबिनको व्यवस्था हुनुपर्ने तथा गाडीका यात्रु र स्थानीयवासीमा चेतनाको विकास गर्न आवश्यकता रहेको सम्बन्धित सरोकारवाला बताउँछन् । 

समाचार