सरकारमा सहभागी हुने मन्त्रीहरूकाे नामावलीसहितकाे प्रस्ताव पेस गर्न कार्यदललाई नेकपा एसकाे निर्देशन

नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने मन्त्रीहरूको नामावलीसहितको प्रस्ताव पार्टीको केन्द्रीय सचिवालयमा छिटो पेस गर्न तीन सदस्यीय कार्यदललाई निर्देशन दिएको छ ।

मंगलवार काठमाण्डाैकाे आलोकनगरमा रहेकाे केन्द्रीय कार्यालयमा बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले मन्त्रालय र मन्त्रीहरूको नामावलीसहितको प्रस्ताव तत्काल पेस गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदललाई निर्देशन दिएको हो । कार्यदललाई पार्टीले पाउने मन्त्रालय र प्रस्तावित मन्त्रीहरूको नामावलीसहितको प्रस्ताव छिटो पार्टी केन्द्रीय सचिवालयमा पेस गर्न निर्देश गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । त्याे प्रस्तावमाथि छलफल गरेरमात्रै सरकारमा सहभागी हुने मन्त्रीहरूबारे टुङ्गोमा पुग्ने सकिने उहाँको भनाइ थियो ।

त्यसैगरी बैठकले मिटरब्याज पीडितहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूको माग तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गरेको छ । मिटरब्याज लगाउनेहरूलाई कारबाही गर्न पनि सरकारलाई सचेत गराइएको प्रवक्ता खतिवडाले बताउनुभयो ।

बैठकले पार्टीका उपाध्यक्ष केदारप्रसाद न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणि जङ्गलीले पदबाट दिएको राजीनामा पनि स्वीकृत गरेको नेकपा (एकीकृत समाजवादी) ले जनाएको छ ।

राजनीति