बागमतीका १ लाखभन्दा बढी विद्यार्थी एसईईमा सहभागी हुँदै

आजबाट सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बागमती प्रदेशका १ लाख १ हजारभन्दा बढी जना विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास निर्देशनालयले बागमती प्रदेशभित्रका १३ वटा जिल्लाहरूको परीक्षार्थी, परीक्षाकेन्द्र र जनशक्ति तय गरेअनुसार, प्रदेशमा १ लाख १ हजार ७३३ जना विद्यार्थी सहभागी हुने भएका हुन् ।

निर्देशनालयका अनुसार, परीक्षाका लागि १३ जिल्लामा ४३४ वटा परीक्षा केन्द्रहरू तोकिएको छ भने केन्द्राध्यक्ष, सहायक केन्द्रध्यक्ष, निरीक्षक, परीक्षा सहायक, परीक्षा सहायक कार्यालय सहयोगी र सुरक्षाकर्मी गरी १५ हजार ८८६ जना जनशक्ति खटिनेछन् ।परीक्षामा काठमाडौंबाट ३६ हजार ५७७ जना, भक्तपुरबाट ५ हजार ८०५ जना, ललितपुरबाट ९ हजार ८९९ जना, काभ्रेपलानचोकबाट ६ हजार ४३६ जना, सिन्धुपाल्चोकबाट ३ हजार ९८५ जना, नुवाकोटबाट ४ हजार ३०० जना, रसुवाबाट ६२८ जना, धादिङबाट ५ हजार ३८६ जना, मकवानपुरबाट ६३३३ जना, चितवनबाट १० हजार ८५६ जना, रामेछमपबाट ३ हजार २२५ जना, दोलखाबाट ३ हजार ६२ जना र सिन्धुलीबाट ५ हजार २४१ जनामा परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा २९ गतेसम्म संचालन हुनेछ ।

शिक्षा समाज