तीन वर्षपछि पूर्णरूपमा सञ्चालनमा आयो रसुवागढी–केरुङ नाका

 रसुवागढी–केरुङ नाका तीन वर्षपछि पूर्णरूपमा सञ्चालनमा आएको छ।

नेपालका तर्फबाट उद्ययोग वाणिज्य तथा अपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी नेतृत्वको टोली र चिनीयाँ अधिकारीले शनिबार बिहान संयुक्तरूपमा नाका सञ्चालन आरम्भ गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए।

यससँगै मालबाहक कन्टेनर भित्रिन सुरु गरेको उनले जानकारी दिए। गत बुधबार बसेको नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बैठकले रसुवागढी–केरुङ निकास र प्रवेशद्वारलाई दुईतर्फी व्यापार र मानव आवतजावतका लागि पूर्णरूपमा सञ्चालन गर्ने सहमति गरेको थियो। 

कोरोना महामारीपछि लामो समय बन्द रहेको यो नाका अहिले आंशिक रूपमा सञ्चालनमा हुँदै आएको थियो । सिन्धुपाल्चोकको तातोपानी नाका पनि एक महिनापछि मे १ देखि पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको छ।

चीनसँगका यी दुई नाका पूर्ण रूपमा नचल्दा चीनबाट नेपालमा हुने आयातका लागि तेस्रो देशको बाटो प्रयोग गर्नुपरेको थियो,जसले समय र मूल्य बढेर व्यवसायी र उपभोक्ता मारमा परेका थिए। नेपाली पक्षले काठमाडौं–ल्हासा सिधा उडान सकेसम्म चाँडै पुनः सञ्चालन गर्न पनि अनुरोध गरेको छ। 

समाचार