गण्डकी : पाँचौँदेखि नवौँ तहसम्मका ३४ स्वास्थ्यकर्मीका लागि विज्ञापन

पर्वत : गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले विभिन्न आठ पदका लागि ३४ स्वास्थ्यकर्मीका लागि विज्ञापन आह्वान गरेको छ।

मन्त्रालयको मातहतमा रहेको संक्रामक तथा सरुवा रोग अस्पताल अन्तर्गत कास्कीमा रहेको डायलासिस सेवा केन्द्रबाट स्वास्थ्य सेवा प्रवेश गराउन विज्ञापन गरिएको हो। ‘सेवा करारमा चिकित्सक र स्वास्थ्यकर्मी व्यवस्थापन कार्यविधि, २०७९’ बमोजिम कर्मचारीहरू राख्न लागिएको हो।

नवौँ तहको नेफ्रोलोजिस्टमा एक जना, मेडिकल अधिकृत आठौँ तहका पाँच जना, स्टाफ नर्स पाँचौँ तहका २० जना, ल्याब टेक्निसियन पाँचौँ तहका दुई जना, फार्मेसी सहायक पाँचौँ तहका दुई जना, रेडियोग्राफर पाँचौँ तहका दुई जना, हेल्थ असिस्टेन्ट पाँचौँ तहको एक जना र बायोमेडिकल टेक्निसियन पाँचौँ तहको एक जना गरी ३४ जना जनशक्तिका लागि विज्ञापन आह्वान भएको हो।

नेफ्रोलोजिस्ट हुनका लागि सोही विषयमा स्नातकोत्तर तह, मेडिकल अधिकृतका लागि एम.बी.बी.एस वा सो सरह उत्तीर्ण, स्टाफ नर्सका लागि नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण, ल्याब टेक्नीसियनमा मेडिकल ल्याब टेक्नोलोजी विषयमा प्रमाणपत्र तह उत्तीर्ण, फार्मेसी सहायकमा फार्मेसी विषयमा प्रमाणपत्र तह उत्तीर्ण हुनुपर्ने छ। यसैगरी रेडियोग्राफरमा रेडियोग्राफी विषयमा प्रमाणपत्र तह उत्तीर्ण, हेल्थ असिस्टेन्टमा सामान्य चिकित्सा विषयमा प्रमाणपत्र तह उत्तीर्ण तथा बायोमेडिकल टेक्निसियनमा आईएस्सी वा विज्ञान विषय लिई कक्षा १२ उत्तीर्ण गरी बायोमेडिकल टेक्निसियनमा कम्तीमा एक वर्षको तालिम वा बायोमेडिकल ईञ्जिनियरिङमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने छ। 

इच्छुक उम्मेदवारले वैशाख तीन गतेसम्म आवेदन दिन सक्ने र वैशाख ४ गतेदेखि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय रामघाट पोखरामा अन्तरवार्ता परीक्षा सञ्चालन हुने छ। उम्मेदवार हुनका लागि नेपाली नागरिक भएको हुनुपर्ने, उमेरको हकमा प्रचलित नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ एवं नियमावली, २०५५ अनुसार हुनुपर्ने, भ्रष्टाचार तथा फौजदारी अभियोग सम्बन्धी मुद्दामा अदालतबाट सजाय नपाएको हुनुपर्ने र भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी बर्खास्त नभएको हुनुपर्ने भनिएको छ।

तलब सुविधा प्रचलित कानुन बमोजिम सम्बन्धित तहको सुरु तलब स्केल मात्र उपलब्ध हुने मन्त्रालयले बताएको छ।

राजनीति