नदी प्रदूषण गराउने उद्योगीलाई कारबाही गर्न माग

जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले बारा र पर्सा जिल्लाको सिमानामा पर्ने सिर्सिया नदी प्रदूषित गर्ने उद्योगहरूलाई कारबाही गर्न माग गरेका छन्।

बिहीवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले सिर्सिया नदी किनारामा विभिन्न उद्योग सञ्चालनमा रहेका र ती उद्योगबाट निस्किने रासायनिक पानी सिधै नदीमा मिसाउँदा नदी प्रदूषित भएको बताए।

उनले नदी प्रदूषित हुँदा मानिस र पशुचौपायालाई समेत छालासम्बन्धी विभिन्न रोगको संक्रमण भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए। उनले नियम मिचेर काम गर्ने उद्योगीहरूलाई अविलम्ब कारबाही गर्न सरकारसँग माग गरे।

उनले भने‚ ‘सिर्सिया नदीको छेउमा उद्योग तथा कलकारखाना छन् तर प्रदूषण र विषालु पानी फाल्ने छाला उद्योगको डिस्टिलरी उद्योग, आइरन उद्योग, टेस्टाइल उद्योग, घिउ उद्योग, साबुन उद्योग, कार्टुन उद्योग, कागज उद्योग, सलाई उद्योग र राँगा काट्ने उद्योगहरू छन्। यी उद्योगबाट निस्किने रसायनयुक्त पानी प्रशोधन नगरी सिधै नदीमा फाल्छन्। यसरी खेलवाड गर्ने उद्योगलाई कारबाही हुँदैन। मेरै जिल्लाको उद्योगमन्त्री बन्नुभएको छ, उहाँहरूलाई यो कुराको बढी अवगत छ। सरकारको आँखामा पट्टी बाँधिएको छ। सरकारलाई थाहा छ‚ उद्योगीहरू नियम मिचिरहेका छन्। नियमविपरीत प्रशोधन नगरीकन पानी नदीमा फालिरहेको छ तर सरकार मुकदर्शक भएको छ। त्यहाँको सिडिओले भन्छ, हामीले आदेश पाएमा २४ घण्टामा नियन्त्रण गर्छौं तर आदेश कर्ता को हो? कहाँ गएको छ?’

सांसद यादवले उद्योगीहरूले बदमासी गरेको कुरा थाहा पाउँदा पाउँदै पनि सरकार मुकदर्शक भएको आरोप लगाए।

राजनीति