‘सरकारकाे १०० दिनकाे उपलब्धिमा ‘कति पानी पर्‍याे, कति घाम लाग्याे’ उल्लेख भएनछ : सांसद पन्त

 नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारका सय दिन उपलब्धिहीन रहेको दाबी गर्नुभएकाे छ । बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद पन्तले सरकार गठन भएका सय दिन पुगेको अवसरमा गोरखापत्रमा २ पेज कामहरू सार्वजनिक गरेको तर त्यसमा कुनै पनि कुरा महत्त्वपूर्ण नपाएको बताउनुभयो । उहाँले सरकारका सय दिनका प्राथमिकतामा किसानका समस्या, आर्थिक अवस्थाका समस्या नपरेको गुनासाे पनि गर्नुभयाे । 

सांसद पन्तले सय दिनसम्म मन्त्रिपरिषद्समेत गठन गर्न नसक्ने सरकारसँग नागरिकले कुनै आश राख्न नसक्ने बताउनुभयो । उहाँले सरकार कार्यहीन, विचारहीन रहेको आरोपसमेत लगाउनुभयो । 

उहाँले भन्नुभयो, ‘सरकार गठन भएको १०० दिन पुगेछ । गोरखापत्रको दुई पेजमा सरकारले गरेका कामहरू भनेर ३७ बुँदाहरू राखिएछ । एउटा बुँदा छुटेछ । त्यो के भन्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि यता नेपालका अस्पतालमा कति बालबालिका जन्मे, त्यसको उल्लेख भएनछ, कति पानी परेकाे छ, कति घाम लाग्यो त्यो पनि उल्लेख भएनछ । त्यो भएको भए बालबच्चाको सङ्ख्या आउँथ्यो । ३७ बुँदा पढ्दा के पढेको बुझिँदैन । यो देशका किसानको बारेमा समस्या समाधानका लागि विषयमा कुनै चर्चा छैन, देशको आर्थिक अवस्थाबारे चर्चा नै छैन । एउटासँग विवाह गरेर अर्कोसँग बसेको यो सरकार अहिलेसम्म १०० दिन पुग्दा मन्त्रिपरिषद् त गठन गर्न सकेको छैन, अरू के आश गर्नु । नागरिक आशावादी नहुनु स्वाभाविक छ । यो विचारहीन, कार्यहीन सरकार हो । त्यसैले सरकारको आलोचना गर्दा कोही तात्तिनुपर्दैन । नागरिकलाई कुनै सेवा नदिने अनि कराएर हुन्छ ? सरकार उपलब्धीहीन छ ।’

सांसद पन्तले दूरसञ्चार ऐन २०५३ लाई संशोधन गर्न मस्यौदा तयार गरिएकोबारे सरकारसँग प्रश्न गर्नुभयो । उहाँले एनसीएललाई सरकारको स्वामित्वमा नल्याउन मस्यौदा विधेयकबाट चलखेल गर्न लागिएको बताउनुभयो । सांसद पन्तले दूरसञ्चार ऐन २०५३ लाई संशोधन गर्न तयार हुँदै गरेको मस्यौदामा सरकारको स्वामित्वमा कहिल्यै नआउने ढङ्गले प्रावधान राख्न लागिएकोप्रति आपत्ति जनाउनुभयो ।

राजनीति