कोशी विरोधी आन्दोलनः पदमबहादुरलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

सरकारले कोशी नामकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । आज शुक्रबार विहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन्। ‘कोशी नामकरण सन्दर्भमा कोशी प्रदेशमा आन्दोलनको क्रममा पदमबहादुर लिम्बूको निधन हुन पुग्यो । त्यसपछि आन्दोलनकारीसँगको छलफलबाट छानबिन समिति बनेको थियो, प्रवक्ता शर्माले भनिन्, ‘त्यसपछि काम प्रक्रिया अघि बढ्ने क्रममा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको छ ।’ मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । प्रवक्ता शर्माले नामकरणसम्बन्धी भइरहेको आन्दोलन र विरोधलाई प्रदेशसँग वार्ता गरी अघि बढ्न केन्द्र सरकारको सहजीकरण गर्ने निर्णय भएको बताइन्। कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सुरक्षाकर्मीको लाठी प्रहारबाट गम्भीर घाइते भएका पदम लिम्बू लाजेहाङको चैत १० गते मृत्यु भएको थियो ।

राजनीति