मेयर शाहकाे अभिव्यक्तिप्रति सरकारले भन्याे– ‘नागरिककाे स्वास्थ्यमाथि खेलबाड गर्न पाइँदैन’

सरकारले काठमाण्डाै महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएर नागरिककाे स्वास्थ्यमाथि खेलबाड गरेको बताएकाे छ ।

बिहीवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले काठमाण्डाे महानगरले सिंहदरबारभित्रको फाेहोर नउठाएर नागरिककाे स्वास्थ्यमाथि खेलबाड गरेको बताउनुभएको हो । उहाँले गर्मीको समयमा त्यसरी फोहोर नउठाउनाले आम नागरिककाे स्वास्थ्यमा असर पर्ने भन्दै यस्तो गर्नु राम्रो नभएको बताउनुभयो । कुनै अर्को उद्देश्य पूर्तिका लागि फोहोर नउठाएर हड्तालको विषय बनाइएको उहाँकाे भनाइ छ । 

मन्त्री शर्माले महानगरपालिकाको मेयरले भनेको विषय टुङ्गिएन भनेर नागरिककाे स्वास्थ्यमाथि खेलबाड गर्न नपाइने बताउनुभयो । उहाँले सङ्घीय सरकारले सहजीकरण गरेर टुङ्ग्याउनुपर्ने विषयमा छलफल गर्नुपर्ने बताउनुभयो । काठमाण्डाैका मेयरले संविधान, कानुन र स्थानीय सरकार सञ्चालन ऐन बुझेर काम गर्नुपर्ने उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘पालिका पनि सरकार हो । त्यसले संविधान पनि बुझ्नुपर्छ । त्यसले नीति पनि बुझ्नुपर्छ । कानुन पनि बुझ्नुपर्छ र त्योअनुसार चल्नुपर्छ । संविधानको अनुसूची ८ मा एकल अधिकार क्षेत्रभित्रमा फोहोरमैला व्यवस्थापनको कुरा पालिकाकाे हुनेछ भन्ने कुरा स्पष्ट छ । स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ हेर्‍याैँ भने त्यहाँ पालिकाले के–के गर्ने भनेर बुँदागत रूपमा लेखिएको छ । तर त्यो लेखिएको विषयलाई अर्को कुनै उद्देश्य पूर्तिका निम्ति र अर्को कुनै कामलाई सल्ट्याउनका निम्ति हडतालकाे विषय बनाउनुहुन्न । किनभने यो गर्मीको समय, आम नागरिककाे स्वास्थ्यसँग जोडिएको विषय, यो धेरै संवेदनशील विषय हो । त्यस कारण जिम्मेवार पदाधिकारीले यस्तो विषय बोल्नु, यस्ता खालका कदम चाल्नु भनेको कुरा राम्रो होइन । यसले राम्रो सन्देश दिँदैन । यसले जनस्वास्थ्यमाथिको खेलबाड पनि ठहर्छ ।’

सङ्घीय सरकारले सहयोग नगरेको भन्दै मेयर शाहको निर्देशमा सिंहदरबारको फोहोर उठेको छैन । महानगरपालिकाले फोहोर नउठाएपछि मन्त्रिपरिषद्को बैठकले सिंहदरबारको फोहोर उठाउने जिम्मेवारी महानगरपालिकाकै भएकाले जिम्मेवारीबाट पन्छिन नमिल्ने जनाएको थियो ।

राजनीति