सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिको वार्ता भङ्ग

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिले सरकारी टोलीसँगको वार्ता भङ्ग गरेको छ । 

बिहीवार गृह मन्त्रालयमा भएको अन्तिम एवम् निर्णायक वार्तापछि सरकारी वार्ता टोलीले आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै समितिले सरकारले बनाएको टोलीसँगको वार्ता भङ्ग गरेको हो । सहमति नजुटेपछि अब मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने भएको छ ।

पाँच दिनसम्म भएको वार्तामा सरकारी वार्ता टोलीले पुरानै कुराहरू दोहोर्‍याएकाे भन्दै त्यसलाई स्वीकार गर्न नसकेर वार्ता भङ्ग गर्नुपरेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिका प्रवक्ता निर्ग नवीनले बताउनुभयो । 

प्रवक्ता नवीनले सङ्घर्ष समितिले राखेका छ बुँदे मागमा सरकारी पक्षले कुनै वास्ता नगरेको आरोप लगाउनुभयो ।

राजनीति