सांसद पन्तकाे व्यङ्ग्य– ‘प्रधानमन्त्रीलाई कसैले भेटेमा संसद् भवन नयाँ बानेश्वरमा बुझाइदिनु हाेला’

नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदबाट हराएको टिप्पणी गर्नुभएको छ । 

आइतवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री प्रचण्ड संसदमा नआएकोमा व्यङ्ग्य गर्नुभएको हो । उहाँले प्रहरीले नागरिक हराएको बेला सूचना जारी गरे जसरी प्रधानमन्त्री हराएको भन्दै कसैले भेटेमा संसद् भवन नयाँ बानेश्वरमा बुझाउन पनि भन्नुभएको छ । प्रधानमन्त्री संसदमा आउनै छाडेकाले याे सूचना जारी गर्नुपरेको पन्तकाे भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘सभामुख महोदय, नागरिकको नाम श्री पुष्पकमल दाहाल । चलनचल्तीको नाम प्रचण्ड । अस्थायी ठेगाना कहिले खुमलटार, कहिले बालुवाटार । हुलिया पहिले पहिले कोट पेन्ट लगाउने गरे पनि अहिले दाैरासुरुवाल र टोपी पनि लगाउने, उमेर ६५ नाघेको, ७० नपुगेकोजस्तो देखिने । उहाँ केही दिनअघि प्रतिनिधि सभा बैठकमा झुलुक्क देखिएर अहिले संसदमा आउनै छोडेकाले उहाँलाई फेला पार्नु हुने व्यक्तिले संसद् भवन नयाँ बानेश्वरमा बुझाइदिनु होला । उहाँ अन्तिम पटक देखिएका स्थान बालुवाटारको छेउछाउ ।’

सांसद पन्तले केही दिनअघि संसदमा झुलुक्क झल्किनु भएका प्रधानमन्त्री दाहाललाई आफूले अन्तिम पटक बालुवाटार छेउछाउ देखेको कटाक्ष पनि गर्नुभयो ।

राजनीति