तनहुँकाे पिउरी दोभानमा जीप दुर्घटना हुँदा चालकको ज्यान गयाे, सात जना घाइते

तनहुँ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानमा हिजाे बेलुका जीप दुर्घटना हुँदा चालकको ज्यान गएकाे छ । दुर्घटनामा सात  जना घाइते भएका छन्।

दुर्घटनामा जीप चालक स्याङ्जाको पुतलीबजार नगरपालिका–६ बस्ने ३९ वर्षीय कुलबहादुर सुनारकाे ज्यान गएकाे  हाे ।

दुलेगौडाबाट पिउरी दोभानका लागि छुटेकाे ग १ ज ७९४२ नम्बरको जीप अनियन्त्रित भएर सडकबाट खसेकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो । 

जीप दुर्घटनामा शुक्लागण्डकी नगरपालिका–१२ बस्ने २१ वर्षीया मोतीकला भुजेल, त्यही ठाउँ बस्ने ३५ वर्षीया बबिता भुजेल, ३१ वर्षीया कल्पना भुजेल, आठ वर्षीय आरभ भुजेल, ९ वर्षीया रुसिका थापा, ३० वर्षीया तिलकुमारी थापा र २७ वर्षीया हेमकुमारी भुजेल घाइते भएका छन् । 

घाइतेमध्ये मोतिकलाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेकाे जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ भने अन्य घाइतेको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ। 

समाज