म्याग्दीको बेनी–जोमसोम सडक खण्ड दैनिक छ घण्टा बन्द

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक खण्डमा दैनिक छ घण्टा यातायात सेवा बन्द हुने भएकाे छ ।

अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि यातायात सञ्चालन गर्ने समयतालिका बनाइएको हो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलका अनुसार हिजो सोमवारदेखि आउँदो २० गतेसम्म बिहान ६ देखि ९ र दिउँसो १ देखि ३ बजेसम्म यातायात रोकेर निर्माणको काम थालिएको छ । यसअघि २०७९ चैत ३ देखि १४ गतेसम्म रुप्से खण्डमा यातायात बन्द गरी काम भएको थियो ।

समय तालिका अनुसार म्याग्दीबाट मुस्ताङ जाने र मुस्ताङबाट म्याग्दीतर्फ आउने गाडीले समयअगावै रुप्से खण्ड पार गर्नुपर्नेछ । एम्बुलेन्स र अत्यावश्यक गाडीलाई सहज आवतजावतको व्यवस्था मिलाउने प्रशासनले जनाएको छ ।

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत् पर्वतको मालढुङ्गाबाट म्याग्दी हुँदै मुस्ताङको कोरलानाका जोड्ने सडक स्तरोन्नति, विस्तार र कालोपत्र गर्ने काम विभिन्न खण्डमा भइरहेको छ ।

समाचार